ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेता आर्यन सिग्देलले वुधबार आफ्नो ३२ औं जन्मदिन मनाएका छन् । आफ्नो श्रीमतीसँग घरमा नै जन्मदिन मनाएपछि उनको जन्मदिनमा विभिन्न खालका उपहार प्राप्त भयो । तर, आर्यनले चलचित्र क्लासिकको यूनिटबाट पाएको गिफ्ट भने विशेष थियो ।
चलचित्र क्लासिकमा आर्यन गायकको भूमिकामा देखिदैछन् । यसैले पनि उनले चलचित्र भित्र गीतार बजाउनेदेखि सिक्नुपर्नेछ । आर्यनलाई भूमिका भित्र अझ डुब्न सजिलो होस् भनेर चलचित्र क्लासिक यूनिटले उनलाई जन्मदिनको उपहार स्वरुप गितार उपहार दिएको हो । क्लासिकका निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी, संगीतकार ताराप्रकाश लिम्बु र अभिनेत्री नम्रता श्रेष्ठसँग जन्मदिन मनाउँदै गर्दा आर्यनलाई सरप्राइज गिफ्ट सहित गितार दिइयो । आर्यनले पनि आफूलाई गितार बजाउन नआउने भन्दै अब सिक्ने बताए ।
निर्माता सुवास गिरीले आर्यनलाई भूमिका अनुसारको उपहार दिइएको बताए । साथैं आर्यनले पत्नी सपनाको साथमा क्लासिक यूनिटसँग जन्मदिन पनि मनाएका थिए । सोहि क्रममा संगीतकार ताराप्रकाश लिम्बुले चलचित्र क्लासिकका २ वटा गीत गाएर माहोललाई संगीतमय बनाएका थिए । निर्माता सुवास गिरीसँग मिलेर उनले यसअघि चलचित्र नोभेम्बर रेन निर्माण गरेका थिए । चलचित्रको छायांकन असोजबाट सुरु हुनेछ ।