ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसै बर्षको विजया दशमीमा प्रदर्शन हुन लागेको चलचित्र परदेशीको ट्रेलर, गीत र फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । नेपालबाट विदेशी भूमिमा कमाउनका लागी जाने महिलाहरुको कथामा निर्माण भएको चलचित्र परदेशीलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।
यस अघि चलचित्र ‘गोर्खापल्टन’ निर्देशन गरेका रायमाझीले यो चलचित्रमा भने लगानी पनि गरेका छन् । लगानीमा रायमाझीलाई राजेश बंशलले पनि साथ दिएका छन् । वुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नारायण रायमाझीले चलचित्र परदेशी हरेक नेपालीहरुको कथा रहेको बताए । उनले भने, ‘चलचित्र परदेशीलाई हामीले नेपालीहरुको चलचित्र बनाएका छौं, नेपाली दाजुभाई, दिदी बहिनीहरुको व्यथा विसाएका छौं त्यसैले चलचित्र परदेशीलाई ‘गोर्खापल्टन’ चलचित्र जसरी नै साथ दिनुहुनेछ भन्नेमा हाम्रो टिम पुर्ण विश्वस्त रहेको छ ।’
सोहि कार्यक्रममा बोल्दै चलचित्रकी नायिका रजनी केसीले चलचित्र परदेशीलाई आम दर्शकहरुले मन पराउने दाबी गरिन् । चलचित्र परदेशीमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको गीत र ट्रेलर हेरेपछि कार्यक्रममा उपस्थित चलचित्रकर्मी र पत्रकारले तारिफ गरेका थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, संविधानविद् डा.भिमार्जुन आचार्य, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, पत्रकार सघका अध्यक्ष शान्ति प्रिय, प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतका व्यक्तिहरुले चलचित्र परदेशीलाई सफलताको आग्रिम शुभकामना दिएका थिए ।