‘पर्शुराम’बाट विराजको कमब्याक, रोज राणा निर्देशक बन्दै



parshuram
ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता र नायक समेत रहेका रोज राणाले पाँच बर्षपछि नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । ‘पर्शुराम’ नाम दिइएको चलचित्रलाई रोजले निर्माण र निर्देशन गर्न लागेका हुन् ।

यस अघि ६ वटा चलचित्र निर्माण गरेका रोजले आफ्नो सातौँ चलचित्रको रुपमा पर्शुराम निर्माण गर्न लागेका हुन् । रोजले पहिलो पटक यस चलचित्रलाई निर्देशन पनि गर्नेछन् । यो चलचित्रको आइतबार राजधानीमा रोजले औपचारिक निर्माण घोषणा गरेका थिए । यो चलचित्रमा ५ बर्षपछि नायक विराज भट्टको कमब्याक रहेको छ भने चलचित्रमा निशा अधिकारी पनि मुख्य भुमिकामा देखिदैंछिन् ।

चलचित्रमा विराज पर्शुरामको भुमिकामा देखिँदैछन् भने नायिका अधिकारी राधाको भुमिकामा देखिनेछिन् । चलचित्र पर्शुरामको औपचारिक निर्माण घोषणा कांग्रेसनेतृ एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डा.आरजु देउवा राणाले गरेकी थिइन् । कार्यक्रममा बोल्दै चलचित्रका नायक विराज भट्टले आफु ५ बर्षपछि पर्शुराममार्फत नेपाली चलचित्रमा देखिन लागेको हुँदा यस चलचित्रबाट धेरै आश बोकेको बताए । उनले भने -‘म ५ बर्षसम्म नेपाली चलचित्रमा नदेख्दा धेरैले मलाई पैसाका लागि भोजपुरी चलचित्र खेलेको भन्दै आरोप लगाए तर त्यो होइन । म नेपाली चलचित्रक्षेत्रबाट कहिले टाढा भएको थिइन र हुने पनि छैन किनकी म यहि नेपाली चलचित्रबाट विराट भट्ट भएको हुँ ।’ उनले अगाडी थप्दै भने -‘अब म क्रमश नयाँ नेपाली चलचित्रहरु पनि खेल्दै जान्छु ।’ उनले चलचित्र ‘पर्शुराम’ एक्शन प्रधान रहेको पनि खुलाए ।

कार्यक्रममा बोल्दै चलचित्रकी नायिका निशा अधिकारीले चलचित्र पर्शुराममा काम गर्न पाउँदा निकै उत्साहित भएको बताइन् । निशाको विराटसँग यो दोस्रो चलचित्र हो । यस अघि निशाले विराजसँग नैना रेशम चलचित्रमा अभिनय गरेकी थिइन् । चलचित्र पर्शुराममा रविन तामाङ, देशभक्त खनाल, ध्रुव कोइराला, सुन्दर श्रेष्ठ र घोडाको पनि मुख्य भुमिका रहने छ ।

चलचित्रमा मौनता श्रेष्ठको कथा, महेश खड्काको संगीत, डा.कृष्णहरी बराल र एकनारायण भण्डारीको गीत, एनवी महर्जनको द्वन्द्व निर्देशन रहने छ । चलचित्रलाई रोज र मिलन श्रेष्ठले मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्रको छायाँकन चैत १ गतेबाट सुरु हुने निर्देशक एवं निर्माता रोज राणाले बताए । यो चलचित्रलाई शुभकामना दिन चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई पनि उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu