ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिजमा दुई नेपाली चलचित्र ‘राहदानी’ र ‘आवेग’ एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘आवेग’ एक्शन प्रधान चलचित्र हो भने ‘राहदानी’ले वैदेशिक रोजगारीको विषयलाई मार्मिक ढंगले उठाएको छ ।
मनोरञ्जक चलचित्रका रूपमा प्रचार गरिएको चलचित्र ‘आवेग’ को विषयवस्तु एवं प्रस्तुति वर्तमान सहरिया परिस्थितिसँग मिल्दोजुल्दो रहेको निर्देशक वसन्त निरौलाको दाबी छ । यो चलचित्रमा मित्रता र प्रेमलाई मूल विषय बनाइएको छ । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आवेग’मा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ ।
चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् । चलचित्रका निर्देशक निरौला ‘आवेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएका कारण दर्शकको साथ राम्रो पाउनेमा विश्वस्त रहेको बताए ।
त्यस्तै चलचित्र राहदानीमा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, नवीन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकास जोशी, दिनेश दुलाल लगायतको अभिनय छ भने रीमा विश्वकर्मा आइटम डान्समा देखा परेकी छन् । चलचित्रलाई सञ्चारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेका हुन् ।