ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘के म तिम्रो होइन र’ बाट चलचित्रमा डेब्यू गरेकी नायिका मरिस्का पोखरेल यो चलचित्रबाट निकै आशावादि छिन् । यो चलचित्र रिलिज नहुँदै ‘चपली हाइट २’मा काम गरिसकेकी पोखरेलले को-स्टार आर्यन अधिकारीको अभिनयमा खोट नभएको बताएकी छिन् ।
हामीसँगको एक कुराकानीमा उनले आर्यनको खुलेरै तारिफ गरिन् । ‘आर्यनको यो पहिलो चलचित्र भएपनि उसको अभिनयलाई खोट लगाउने ठाउँ छ जस्तो मलाई लाग्दैन । उसले उत्कृष्ट अभिनय गरेको छ’ उनले थपिन्, ‘निकै खुसी छु, राम्रो टिमसँग काम गर्न पाउँदा’ । यो चलचित्र मरिस्का र आर्यन दुवैको पहिलो चलचित्र हो । आर्यनको एक्शन अवतारले यतिबेला बजारमा चर्चा बटुलिरहेको छ ।
मरिस्काले यसअघि केहि विज्ञापन र म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘यारा’मा पनि उनले छोटो अभिनय गरेकी छिन् । यो चलचित्र अर्को हप्ता रिलिज हुँदैछ ।