ठुलोपर्दा डटकम, काठमाण्डौ।
हरेक चलचित्रमा फरक-फरक गेटअपमा देखिने र दर्शकलाई फरक स्वादका चलचित्र दिने कलाकार हुन् सौगात मल्ल । सौगातले अभिनय गरेको चलचित्र ‘लुकामारी’ यहि असार १० गते रिलीज हुँदैछ ।
सौगातको फरक गेटअप र संवाद भन्ने शैलीका कारण पनि यो चलचित्र अहिले चर्चामा छ । उनि जति चर्चामा रहेपनि सञ्चारमाध्यममा भने देखिँदैनन् । मिडियाबाजीबाट टाढै रहन रुचाउने उनी हाल एक चलचित्रको छायांकनको लागि व्यस्त भएका कारण पनि प्रचारमा देखिन पाएका छैनन् ।
लुकामारी प्रचारको बारेमा बोल्दै सौगातले भने, ‘-‘मलाई मिडियामा आइराख्न मन लाग्दैन । म जे काम गर्छु, त्यो चलचित्रमा देखिन्छ । यो चलचित्रमा मेरो चौधरीको क्यारेक्टर छ । जुन यसअगाडि गरेका चलचित्र भन्दा विल्कुल फरक छ’ । उनि आँफु नवलपरासीको परासी बजारमा हुर्किएकाले त्यहाँको शैली, भाषालाई पर्दामा ल्याउन मन भएको र ‘लुकामारी’ले त्यो इच्छा पुरा गरेको बताए ।
श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुरजमानसिंह भण्डारीले निर्माण गरेका हुन् । चलचित्रमा कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत लगायतका कलाकारको अभिनय छ ।