
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली म्यूजिक भिडियो अवार्डहरुको इतिहासमा नै पहिलोपटक विदेशमा नेपाली म्यूजिक भिडियो अवार्ड आयोजना हुँदैछ । यो अवार्ड सेप्टेम्बर ९ अर्थात भदौ २४ गते यूएइको अवुधावीमा हुनेछ ।
मंगलवार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्डको तयारी र कार्यक्रम शैलीको बारेमा जानकारी दिइएको छ । संगीक्षा फिल्मस्को आयोजनामा यूएइको नमस्ते ट्राभल्सले अवार्ड आयोजनामा सहकार्य गर्नेछ । यूएइबाट पत्रकार सम्मेलनका लागि नेपाल आएका महेश गिरी र एकेन्द्र थापाले अवार्डको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै थापाले नेपाली कला र संकृतीलाई विदेशमा पनि अगाडि बढाउन अवार्डको आयोजना गर्न लागिएको जानकारी दिए । आयोजक मध्येका अर्का एक महेश गिरीले दुबई, अवुधावीमा पुगेर बलिउड चलचित्रको छायांकन हुने, अवार्ड हुने भन्दै अब नेपाली म्यूजिक भिडियो अवाडले नयाँ शैलीको ढाँचा कोर्ने बताए । उनले यो अवार्ड म्यूजिक क्षेत्रको मात्र नभएर देशकै अवार्ड भएको बताए ।
संगीक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका मनोज केसीले चलचित्रपछि आफूले म्यूजिक भिडियोको अवार्डमा हात हालेको बताए । उनले आफूले पैसा कमाउन भन्दा पनि मलामी कमाउनका लागि यस्ता खालका कार्यक्रम गरेको बताउँदै अवार्डमा कुनै धाँधली नहुने स्पष्ट पारे ।
पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा १७ विधामा अवार्ड प्रदान गरिदैछ । अवार्डमा सहभागी हुनका लागि ५० जनाको कलाकार र पत्रकारको टोली यूएइ पुग्नेछन् । अवार्ड आयोजना गर्न लागेको केसीका अनुसार यही अवार्डमा चलचित्र क्षेत्रका ४ जना हस्तीलाई पनि सम्मान गरिनेछ ।
गतबर्षको ‘पपुलर चलचित्र, पपुलर निर्देशक, पपुलर नायक र पपुलर नायिका’लाई सम्मान गरिनेछ । यस्तै, यूएइमा बसेर नेपाली संगीतमा लागिरहेका संगीतकर्मीलाई पनि सम्मान गरिनेछ ।