पत्रकारको संघर्षमा ‘यूनिटी’ बन्दै



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘युनिटी’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीस्थित होटल र्‍याडिसनमा यस चलचित्रको निर्माण घोषणा गरिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र उधोग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले संयुक्त रूपमा ‘टाइटल’ उद्घाटन गरे । चलचित्र सिने मनबल इन्टरप्राइजेज र कर्पोरेट म्यागजिनको संयुक्त निर्माणमा बन्नेछ ।

महासंघका अध्यक्ष विष्टले पत्रकारहरूको संघर्ष र भ्रष्टाचारविरुद्ध निर्माण हुन लागेको यस चलचित्रले पत्रकारलाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । पत्रकारद्वारा नै निर्माण र निर्देशन गर्न लागिएको सो चलचित्र राम्रो बन्ने विश्वास आफूले लिएको उनको भनाइ थियो । राजधानी दैनिकका समाचार सम्पादक तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले यस चलचित्रले शिर निहुराउने काम नगरोस् भन्दै नेपाली पत्रकारले अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध लड्दै आएको यथार्थ बाहिर ल्याओस् भन्ने सुझाव दिए ।

Unity

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघसँग निर्माता संघ तथा चलचित्र संघको रूपमा चलचित्रकर्मीहरूसमेत आबद्ध भएकाले महासंघ चलचित्र उद्योगको विकासका पक्षमा रहेको बताए । आटोमोबाइल पत्रकार संघका अध्यक्ष एवं कर्पोरेट म्यागजिनका सम्पादक-प्रकाशक उज्ज्वलजंग शाहले नेपाली पत्रकारहरूको योगदानलाई सही रूपमा बाहिर ल्याउन आफूले यो चलचित्र निर्माण गर्न लागेको बताए । २०६० देखि ०६८ को बीचमा नेपालमा फस्टाएको नेटवर्किङ व्यवसायका पछि कसको हात थियो भन्ने बारे यस चलचित्रले भण्डाफोर गर्ने पनि उनले खुलासा गरे ।

यस चलचित्रका निर्माता लक्ष्मीप्रसाद ढकालले आफूले हालै अमेरिका र बेलायतको चलचित्र बजार बुझेर र आएकाले नेपाली तथा विदेशी बजारलाई सुहाउँदो चलचित्र युनिटी निर्माण गर्न लागेको जानकारी गराए ।

यस चलचित्रको निर्देशन राजधानीकर्मी डब्बु क्षत्रीले गर्दै छन् । आगामी चैतमा रिलिज गरिने यस चलचित्रको असोज पहिलो साताबाट छायांकन सुरु हुने निर्देशक क्षत्रीले शुभारम्भ समारोहमा जानकारी गराए ।

हर्कुलेस बस्नेतको संगीत, शैलेन्द्र सरद र डब्बु क्षत्रीको गीत, सुसन प्रजापतिको छायांकन, शक्तिप्रज्वल घिमिरेको सम्पादन, सुलभ ढकालको निर्माण व्यवस्थापन रहने यस चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, सुष्मा महराको हेयर स्टाइल, शिक्षा श्रेष्ठको फेसन डिजाइन तथा स्टाइल र उज्ज्वलजंग शाहको कथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu