ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि समय पहिले एउटा गीतले ह्वात्तै चर्चा पायो । त्यो गीत हो ‘निर जहिले रिसाउने …’ । ‘रेशम फिलिली’ चलचित्रको ‘पिरतीको छाता’ ओढाउन गीतबाट ख्याती कमाएका काली प्रसाद बास्कोटाले अर्को उस्तै लोभलाग्दो गीत ‘निर जहिले रिसाउने …’ बनाए, जुन चलचित्र ‘पुरानो डुंगा’मा समावेश छ ।
यो गीतका सयौँ कभर भिडियो बनेका छन्, सँगसँगै मंसिर १० मा रिलीज हुने यो चलचित्रको प्रतिक्षा पनि उत्तिकै बढेको छ । दर्शकले ट्रेलर हेर्न खोजेको लामो समय भईसक्दा बुधवार ‘पुरानो डुंगा’को ट्रेलर रिलीज भएको छ ।
यसअघि ‘कबड्डी’ सिरिजमा मुस्ताङ्को कथा उठाएका निर्देशक रामबाबु गुरुङ्ले यसपाली कास्की आसपास रहेको तालछेउको जिन्दगीलाई टिपेका छन् । डुंगा चलाउने दुई भाईको खिचातानी यो चलचित्रको मुल मुद्दा रहेको ट्रेलरले प्रष्ट पार्छ । प्रमूख मुद्दा जे भएपनि गजबको प्रेमकथा रामबाबुले कतै न कतै मिसाईहाल्छन् । यो चलचित्रमा पनि दयाहाङ् राई र प्रियंका कार्कीको प्रेम देखिन्छ ।
चलचित्रमा दया र प्रियंकाको अलावा माओत्से गुरुङ् र मेनुका प्रधानको पनि प्रमूख भूमिका छ । सिनेमा आर्ट प्रोडक्शन र माओत्से गुरुङ् फिल्मले संयुक्त रुपमा बनाएको यो फिल्ममा रामबाबु गुरुङ् र उपेन्द्र सुब्बाले पटकथा लेखेका छन् । कथा भने माओत्से गुरुङ्ले छानेका हुन् ।
माओत्से गुरुङ्, मणि राम पोखरेल र बाल्मिकी पोखरेल कार्यकारी निर्माता रहेको ‘पुरानो डुंगा’मा अर्जुन कार्की सह-निर्माता छन् भने रौनक बिक्रम कँडेल, ओम चन्द रौनियार, धन बहादुर गुरुङ् र प्रकाश गुरुङ् निर्माता हुन् ।
ट्रेलर हेर्नुहोस्: