काठमाण्डौ। युवास्टार अनमोल केसीको प्रमूख भूमिका रहने नेपाली चलचित्र ‘कृ’को छायांकन शुरु भएको छ । लामो समय लगाएर फाईनल भएको स्कृप्टमा छायांकन थालिएको हो ।
सोमबारबाट छायांकनमा गएको ‘कृ’को स्कृप्ट बिसौँ पटक परिमार्जन गर्नुपरेको बताईएको छ । यहि चलचित्रको लागि अनमोलले बीस लाख पारिश्रमिक लिएका छन् । अनमोलको अपोजिटमा चर्चित मोडल अदिती बुढाथोकी छिन् । हाल भने उनि मुम्बईमा छिन् ।
केहि समय अगाडी वर्कशप सकाएर उनि मुम्बई गएकी थिइन् । बलीउडका विभिन्न प्रोजेक्टमा व्यस्त अदिती ‘कृ’को लागि आफ्नो सट दिन नेपाल आउनेछिन् । हाल भने अनमोलको पार्ट शुटिंग भईरहेको छ ।
यो चलचित्रमा अनमोल र आदितीसँग नायक अनुप विक्रम शाहीको पनि लिड रोल रहनेछ । अनुप खलपात्रमा देखिनेछन् । हाल ‘कृ’को छायांकन टोखास्थित ग्राण्डी अपार्टमेन्टमा भईरहेको छ । छायांकनस्थलमा अनमोलको सुरक्षार्थ दुईजना सुरक्षागार्ड समेत खटिएका छन् । आफ्नो सुरक्षाको लागि अनमोलले उनको चर्चित चलचित्र ‘ड्रिम्स’ रिलीजको बेला समेत सुरक्षा गार्डको व्यबस्था गरेका थिए ।
भदौ ८ गते रिलीज हुने यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । ‘कृ’का निर्देशक सुरेन्द्र पौडेल हुन् भने सुवास गिरी र भुवन केसी चलचित्रका निर्माता हुन् ।