बक्सअफिस बहस: आवश्यकता र चुनौतीहरु



काठमाण्डौ। सोमवार राजधानीमा चलचित्र पत्रकार संघ, नेपालले प्रत्येक महिनाको १५ गते आयोजना गर्ने “स्पीकर्स कर्नर” को पहिलो श्रृंखला अन्तर्गत “नेपालमा बक्सअफिस” विषयमा विभिन्न चलचित्र सम्बन्धि संघ–संस्थाका प्रतिनिधि र फिल्म निर्देशकसँग छलफल गरेको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले र फिल्म निर्देशक दीपेन्द्र के. खनाल वक्ताको रुपमा उपस्थित भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले अहिलेको प्रविधिको जमनामा नेपालमा बक्सअफिस अत्यन्त आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, “बक्सअफिस भनेको समयको माग हो । विज्ञानले दिएको एउटा सिस्टम हो । नेपालमा सञ्चालित मल्टिप्लेक्स सिनेमा हलमा आ–आफ्नै बक्सअफिस छ । तर, विकास बोर्डले लगाउन लागेको बक्सअफिसमा देशभर एउटै सफ्टवेयर हुन्छ । त्यसको एउटै आउटपुट हुन्छ । जस्तो, एउटा हलमा जोडिएको सफ्टवेयर अर्को हलको सफ्टवेयरसँग जोडेर राखिन्छ । त्यसले एउटै सफ्टवेयरबाट देशभरको डाटा काठमाडौंमा बसेर थाहा पाउन सकिन्छ ।”

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले नेपालमा सोचिएको बक्सअफिस संसारमै लागू नभएको बताए । उनले भने, “हलीउड, बलीउडमा बक्सअफिस छ तर त्यहाँ सबै सिनेमा हलहरुको आ–आफ्नै सफ्टवेयर छ । फिल्म चल्ने बेलामा बक्सअफिसको पासवर्ड निर्माताहरुलाई दिईन्छ र निर्माताहरुले आफ्नो फिल्मले गरेको विजनेश हेर्न पाउँछन् ।”

त्यस्तै, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्लेले भने, “बक्सअफिस लागू भएर नेपाली फिल्मले राम्रो विजनेश गर्ने वा लागू नभए नराम्रो विजनेश गर्ने होइन । त्यसका लागि फिल्म आफैमा राम्रो हुनु पर्छ । बक्सअफिस लागू भएर फिल्म हलमा दर्शकको भिड लाग्ने होइन । बुझ्नेलाई नेपालमा बक्सअफिसले खासै असर पर्छ जस्तो चाहिँ मलाई लाग्दैन तर फिल्म असफल हुने निर्माताहरुलाई चाहिँ मेरो फिल्मले यो हलबाट यति विजनेश गर्यो भनेर चित्त बुझाउने बाटो हुन्छ भन्ने मात्र हो ।”

साथै, फिल्म निर्देशक दीपेन्द्र के. खनालले नेपालमा बक्सअफिसले ठूलो प्रभाव भने नपारेको बताए । “नेपालमा बक्सअफिस लागू भएर निर्मातालाई ठूलो राहत मिल्ने भन्ने होइन मात्र पारदर्शीता हुन्छ भन्ने हो । बक्सअफिसले ठूलो उथल पुथल हुने पनि होइन मात्र निर्माताहरुलाई डाटा एकै ठाउँबाट आउँछ । नेपालमा बक्सअफिस लागू भएर फिल्मको विजनेशमा ठूलो मद्दत पुग्छ भन्ने चाहिँ हुँदैन ।”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu