काठमाण्डौ। मंगलबारदेखी नायक निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘कमिटमेन्ट : सिक्स्टी हावर्स’ छायांकन शुरु भएको छ । छायांकन शुरु भएसँगै यो चलचित्रबारे अर्को नयाँ खबर बाहिरिएको छ ।
भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानी सहकार्यमा निर्माण हुने यो चलचित्रमा निखिलकी साली शिवानी लुईँटेलको मूख्य भूमिका रहने भएको छ । चलचित्रमा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको पनि अभिनय रहने छ । अहिले ‘कमिटमेन्ट’ को छायांकनका लागि कलाकार रञ्जित भने नेपाल आइपुगेका छन् । उनी फिल्ममा समाबेश एक आइटम गीतमा मात्र देखिने बताईएको छ ।
३ करोडको बजेटमा निर्माण हुने यो चलचित्रको लागि निखिल केही दिनदेखि फिल्मका लागि नयाँ अनुहार खोजिरहेका थिए । यस्तैमा उनले फिल्मको मुख्य भूमिकामा आफ्नै सालीलाई अनुवन्धित गरेका हुन् ।
निखिलकी श्रीमती सञ्चिता लुइँटेलले फेसबुकमा बहिनी शिवानीको फोटोसहित एक स्टाटस लेखेर चलचित्रमा अभिनय गर्ने जानकारी दिएकी छन् । निखिलले आफुले बनाएका कुनै पनि चलचित्रमा सञ्चितालाई भने अभिनय गराएका छैनन् ।