काठमाण्डौ। चर्चित चलचित्र ‘शिरीषको फूल’का निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्वारा निर्देशित नेपाली चलचित्र ‘माई लभ–प्रमिस फर काठमाण्डौ’ आउँदो मंसिर १५ गते रिलीज हुने भएको छ ।
आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका टिमले रिलीज मिति तोकेको छ । चलचित्रको वारेमा जापानबाट आएका कलाकारहरुले पनि आफ्ना कुराहरु व्यक्त गरेका थिए । बैशाख १२ गते गएको भुकम्पको सेरोफेरो र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेमलाई समेटेर यो चलचित्र निर्माण भएको हो ।
फिल्म क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ । चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ ।

भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय चलचित्रमा रहेको छ । बिशेष गरि काठमाडौं महानगरभित्र भुकम्प पछिको अस्तव्यस्तलाई चलचित्रले चित्रण गर्न खोजेको बताईएको छ ।
यो चलचित्र महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार विशेष प्रदर्शनी समेत गरिने भएको छ ।





