काठमाण्डौ। नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’को औपचारिक निर्माण घोषणा गरिएको छ । छेतेन गुरुङले निर्देशन गर्ने यस चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषित यो चलचित्र असोज २२ गतेबाट छायांकनमा जानेछ । ‘स्क्रिप्ट राईटरको रुपमा काम गर्दैगर्दा फिल्म निर्देशनतर्फ होमिएको छु । लेखनबाट सिकेका कुराहरुले फिल्म निर्देशन गर्ने आत्माविश्वास पलाएका कारण ‘डमरुको डण्डीबियो’ निर्देशन गर्न लागेको हुँ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा हामीले रोचक तरिकाले प्रस्तुत गर्नेछौं’, कार्यक्रममा निर्देशक गुरुङ्गले बताए ।
कलाकार तथा लेखक खगेन्द्र लामिछानेले भने, ‘मलाई सधै आफ्नै फिल्ममा मात्र काम गर्ने भनेर खुब आरोप लाग्दै आइरहेको थियो । आजबाट यो आरोपबाट पनि मुक्त भएको छु ।’ उनले ‘डमरुको डण्डीबियो’ नेपाली मौलिक कथावस्तुमा निर्माण हुने पनि बताए ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण हुने यो फिल्मको छायांकन लम्जुङको घले गाउँमा ७५ र काठमाडौंमा २५ प्रतिशत हुनेछ ।