‘पीआर’ को कथा मेरो जीवनजस्तै लाग्यो: कलाकार सुरज पौडेल



काठमाडौं – अस्ट्रेलियामा अध्ययन र मोडलिङको क्षेत्रमा सक्रिय रहेका सुरज पौडेलले नेपाली चलचित्र क्षेत्रमा फिल्म ‘पीआर’ मार्फत डेब्यु गर्दैछन्। आउँदो शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाब लाई कथाका माध्यमबाट प्रस्तुत गरेको बताइन्छ।

पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिनुको कारण र विदेशको व्यस्तताबिच छायाङ्कन गर्ने अनुभवहरूका बारेमा बताएका छन्। पौडेलले चलचित्रमा जोडिनुको श्रेय निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतलाई दिए। पौडेल र सलिनाको चिनजान सन् २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोको क्रममा भएको थियो, जहाँबाट उनीहरू राम्रो साथी बनेका थिए।

अस्ट्रेलियामा शोभित बस्नेतले फिल्मका लागि अडिसन लिइरहेको जानकारी सलिनाले नै म्यासेजमार्फत दिएपछि सुरज चलचित्रका लागि तयार भए। अभिनय गर्ने इच्छा पहिलेदेखि नै भएकाले अडिसन दिएको र सफल भएको उनले बताए।

अडिसनपछि समय व्यवस्थापनलाई लिएर केही चिन्ता भए पनि निर्देशक बस्नेतले दिएको सल्लाहले उनमा ठुलो आत्मविश्वास जगायो। एक रातमै स्क्रिप्ट पढेर मन परेपछि उनले अभिनय गर्ने निर्णय गरे। स्क्रिप्ट मन पर्नुको मुख्य कारणबारे उनी भन्छन्, “कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै रहेछ। अस्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटेँ।”

पौडेलका लागि डेब्यु चलचित्रमा काम गर्नु पूर्ण रूपमा सहज नभए पनि शोभित बस्नेत जस्तो अनुभवी निर्देशकसँग काम गर्दा धेरै सहज भएको अनुभव सुनाउँछन्। “उहाँले चलचित्र क्षेत्रमा कमाएको अनुभवका आधारमा हामीलाई सहज वातावरण दिनुभयो। अरू कसैसँग भएको भए यति सहज हुने जस्तो लाग्दैन,” पौडेलले भने।

छायाङ्कनमा जानुअघि करिब डेढ महिना जति वर्कसप गरिएको थियो। यस वर्कसपले क्यारेक्टरमा बस्न, संवादलाई सही तरिकाले प्रस्तुत गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu