
काठमाडौं – लामो समयदेखि हास्य विधामा दर्शकलाई हँसाउँदै आएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक विशेष समारोह आयोजना गरी २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले चलचित्रको मूल कथावस्तुमाथि प्रकाश पारेको छ। कथा अनुसार, विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेको एक ‘जेनजी’ (जेनेरेसन जेड) युवाले आफ्नो सपनामाथि भ्रष्टाचार र बेथितिले अवरोध सिर्जना गरेपछि त्यसैको विरुद्धमा काठमाडौंको माइतीघर मण्डलाबाट सशक्त आन्दोलन सुरु गर्छ। ट्रेलरमा देखाइएको यो आन्दोलनको झल्कोले हालै नेपालमा भएको युवा आन्दोलनलाई स्मरण गराउँछ, जसले दर्शकहरूमाझ तत्कालै कौतुहलता सिर्जना गरेको छ।
ट्रेलरमा उठाइएको कथावस्तु र हालैको जेनजी आन्दोलनबिचको समानताका विषयमा निर्देशक पाँडेलाई प्रश्न गर्दा उनले संयोग मात्र भएको स्पष्ट पारे। उनले भने, “हाम्रो चलचित्रको छायाङ्कन जेनजी आन्दोलन सुरु हुनुभन्दा अगाडि नै सकिसकेको थियो। कथावस्तुमा समानता देखिनु संयोग मात्र हो।”
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यस चलचित्रमार्फत अभिनेता गणेश उप्रेती लामो समयपछि पर्दामा कमब्याक गर्दैछन्। उनी विशेष गरी यो चलचित्रको छायाङ्कनका लागि अमेरिकाबाट नेपाल फर्किएका थिए।
चलचित्रमा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई जस्ता कलाकारहरूको अभिनय रहेको छ। यसै गरी, कलाकार विमोचन दवाडी र जेसिका पोखरेल ले यो चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यस चलचित्रको पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेले सहकार्य गरेका छन्।
ट्रेलर:






