नाचघरको मञ्चमा भत्काईयो पर्खाल



काठमाडौं। राजधानीको जमल स्थित राष्ट्रिय नाचघरको मञ्चमा मंगलबारबाट नयाँ नाटक ‘पर्खाल’ मञ्चन सुरु भएको छ । बुधबार दिउँसो १:३० बजे पनि मञ्चन हुने यो नाटक भरत गुरागाईंको लेखनमा तयार भएको हो । नाटक पर्खाललाई प्रयाग न्यौपानेले निर्देशन गरेका छन् । यो कथाले आम जनजीवनलाई समेट्ने कोशिस गरेको छ ।

मोरङ स्थित झोराहाट नाट्य समुहका कलाकारले राजधानीमा दुई दिनको लागि मागलबारबाट यो नाटक मञ्चन सुरु गरेका हुन् । नाटकको कथा सुरु हुने क्रममा दुई दाजुभाइ आफ्नो सुर गरेर बसेका हुन्छन् । कथा अघि बढ्ने क्रममा आमा कान्छा छोरासित बसेको दृश्य देखिन्छ । दाजु जँड्याहा स्वभावको हुन्छ । ऊ आमा र बाबुले सम्पत्तिको धेरै हिस्सा कान्छा छोरालाई दिएको भन्दै भाइसाग कुनै पनि सम्बन्ध राख्न चाहादैन । तर दाजुका छोराछोरीलाई काकाकाकीले असाध्यै माया गरेका हुन्छन् ।

नाटकको कथाअनुसार एकदिन दाजुका छोरालाई डकैती र हत्याको अभियोगमा प्रहरीले गिरफ्तार गर्छन् । काकाकाकीले सक्दो बचाउने प्रयास गर्छन्, तर असफल हुन्छन् । आफ्नो पारिवारिक समस्यामा भाइले सहयोग गर्न खोजेको दाजुलाई मन पर्दैन । दुई दाजुभाइको घरसँगै भएकाले दाजुले घरको बीचमा पर्खाल बनाइदिन्छन् । किनकि उसलाई भाइको परिवारका सदस्यका अनुहार हेर्नु थिएन ।

घरको बीचमा पर्खाल भए पनि दाजुको छोरी र भाइको छोरीबीचको सम्बन्ध अझै प्रगाढ हुँदै गएको हुन्छ । मायामा कुनै कमी हुँदैन । सौतेनी आमाले छाडेर गएपछि अलपत्र परेकी ती छोरीलाई खान नदिएकाले काकाकी छोरी बहिनीले कसोकसो खाना पर्खालको प्वालबाट खुवाउँदै हुन्छे । गिरफ्तार भएको छोरो घर आइपुग्छ र आफ्ना बहिनीहरूको माया देखेर उसले पर्खाल तोड्ने प्रयास गर्छ । त्यत्तिकैमा जँड्याहा दाजु आइपुग्छन् । छोरालाई रोक्न खोज्छन् । केहीबेरको घम्साघम्सीपछि त्यो अहंकारको पर्खाल तोडिन्छ । नाटकको अन्त हुन्छ ।

यो नाटकले परिवारको एकतालाई कुनै पर्खालले रोक्न सक्दैन भन्ने सन्देश दिएको थियो । नाटकलाई दर्शकले मन पराएका थिए । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को आयोजनामा यो नाटक मञ्चन गरिएको हो । नाटकको प्रकाश परिचालनमा सुरजकुमार माझी, ध्वनि संयोजनमा मिलन नेपाली, गीतमा भरत गुरागाई, मञ्च निर्माणमा प्रदिप सरदार र सुदीप कार्की, भेषभुषामा सुनिता कट्टेल र अनु श्रेष्ठ थिए ।

यस्तै यो नाटकमा प्रज्वल काफ्ले, खुसी शर्मा, गजेन्द्र पृथक, सुनिता कट्टेल, मनोज निरौला, ओमप्रकाश निरौला, मनिषा बराल, भरत गुरागाई, निराशा ढुंगेल, अनु श्रेष्ठ, सुरेश कार्की, प्रदिप सरदार, सुदिप कार्की, प्रयाग न्यौपाने, सविन कोइराला, अनिल सरदारको अभिनय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu