काठमाण्डौ। नेपाली चलचित्र ‘फेरि–फेरि’ बन्ने भएको छ । पुरन थापाले निर्देशन गर्ने यस चलचित्रमा ऋचा शर्मा र नायक तथा निर्देशक अर्पण थापाको अभिनय रहनेछ ।
यसअघि ऋचा र अर्पणले ‘आधा लभ’, ‘चक्कर’, ‘सुनकेसरी’, ‘फिर्के’ लगायतका चलचित्रमा सँगै अभिनय गरिसकेका छन् । माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने चलचित्र कमेडी जनराको भएको निर्देशक पुरनले जानकारी दिए ।
निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्राएको र सोही क्यामेराले चलचित्र खिचिने जानकारी दिएका छन् । उच्च प्रविधियुक्त चलचित्र निर्माणका लागि सो क्यामेरा ल्याएको उनले बताए ।
रामेश्वर कार्कीले खिच्ने चलचित्रमा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यसँगै निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् ।