काठमाण्डौ। यो शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मेला’को व्यापार सिंगल थिएटरमा राम्रो भएको छ । नायक सलोन बस्नेतको पछिल्लो समय बढ्दै गएको क्रेजले पनि यो चलचित्रको व्यापारमा सहयोग गरेको हो ।
चलचित्रका लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त भन्छन्-‘शुक्रबार र शनिबार हलमा दर्शकको उपस्थिती राम्रो रह्यो । काठमाण्डौ बाहिर आजबाट १० वटा हल थपिएका छन् । शनिबार काठमाण्डौका सिंगल थिएटर हाउसफूल रहे ।’
उनले चलचित्रको व्यापारबाट आफू उत्साहित भएको सुनाए । बसन्त निरौला निर्देशित यस चलचित्रमा अशिष्मा नकर्मी, सलोन बस्नेत, आमेष भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको २ दिने कलेक्शन भने सार्वजनिक भएको छैन ।
‘मेला’ हेर्न दर्शकको राम्रो उपस्थिती हलमा भएपछि शनिबार यसको निर्माण यूनिट विभिन्न हलमा पुगेको थियो । नायक आमेष भण्डारी काठमाण्डौको गोपिकृष्ण हलमा दर्शकसँग सेल्फी खिच्नमा व्यस्त देखिएका थिए । चलचित्र हेर्ने अधिकांशले यसको कमेडी र सन्देश मन परेको बताए ।