काठमाण्डौ। पुष २१ गतेबाट देशैभरका सिनेमा हलहरुमा प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र ‘फिर्के’ यूनिटले विद्यार्थीसँग पनि साक्षात्कार गर्न सुरु गरेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा आइतवार ‘फिर्के’का कलाकार र निर्देशक ठमेलमा आयोजित एक आत्मविश्वास अभिवृद्दि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण कार्यक्रममा उपस्थित भएका छन् ।
राजधानीका विभिन्न कलेजबाट आएका सयभन्दा बढी विद्यार्थीलाई कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’, निर्देशक रवि डंगोल र नव-नायिका क्रिष्टिना पौडेलले फिल्मको टिसर्टसहित ‘फिर्के’को विषयमा जानकारी दिए । विद्यार्थीसँग केहीबेर चलचित्रका कलाकार सेल्फीमा पनि रमाए ।
सुलेमान शंकरले विद्यार्थीहरु ‘फिर्के’ हेर्न उत्साहित भएको बताए । उनले भने, ‘धेरै विद्यार्थीहरुलाई चलचित्र पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ भन्ने जानकारी रहेछ । निकै खुसी लाग्यो ।’ उनले गीत र ट्रेलरबाट पाएको सकारात्मक प्रतिक्रियाका कारण चलचित्रलाई पनि दर्शकहरुले मनपराउनेमा विश्वस्त रहेको बताए ।
गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।