‘ईकु’ र ‘ईकु २’ बाट लोकप्रिय बनेका हास्यकलाकार सुलेमान शंकर ‘ईकु’ निर्मित तथा अभिनीत नयाँ चलचित्र ‘फिर्के’ यही पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा ‘फिर्के’ टीम अहिले मोफसल दौडाहामा निस्किएको छ । आइतवार झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ईकु’ले ‘फिर्के’ हाँस्यप्रधान चलचित्र बनेको बताए ।
उनले भने, ‘म यसअघि दुईपटक ‘ईकु’को भूमिकामा दर्शकमाझ आएँ । मेरो परिचय नै ‘ईकु’ भइसकेको छ । तर, अब ‘फिर्के’बाट मलाई आफ्नो परिचय फेरिने विश्वास छ ।’
उनले अगाडि भने, ‘‘फिर्के’ हेर्नेले मनोरञ्जन मात्र होइन हाँसोले हल नै गुञ्जयमान हुन्छ । म यो दावी गर्न सक्छु कि ‘फिर्के’ हेर्दा तपाईको पैसा खेर जाँदैन ।’
गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।
यो चलचित्र ‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको हो जसलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् ।