चलचित्रका अमर सर्जक ‘शिव रेग्मी’



विजयरत्न तुलाधर। शिव रेग्मी आजभन्दा डेढ दशक अगाडि (वि.सं.२०५६) नेपाली चलचित्र आकाशमा “आफन्त” मार्फत एक निर्देशकका रुपमा उदाउनु भएका त्यस्तो तारा हुनुहुन्थ्यो । जुन तारा बिना आकाश नै अन्धकारमय हुनसक्थ्यो । निर्देशकका रुपमा ख्याति कमाउनु भएका शिव रेग्मी बहु प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँ एक सशक्त लेखक पनि हुनुहुन्थ्यो । चलचित्रकालागि केही कथाहरु लेख्ने कामबाट आफ्नो चलचित्र यात्रा थालनी गर्नु भएका शिव रेग्मीले लेख्नु भएको पहिलो चलचित्र “प्रेमपूजा” हो ।

यस चलचित्रका निर्देशक राजुध्वज राणा हुनुहुन्थ्यो । यसमा विमल पौडेल, निष्ठा मल्ल र अर्पणा अमात्यले प्रमुख भुमिका निर्वाह गरेका थिए । “प्रेमपूजा” मा उहाँले एउटा गीत पनि लेख्नु भएको थियो । शिव रेग्मीले “प्रेमपूजा” पछि “मोहनी” चलचित्रको लागि कथा लेख्नु भयो । रमेश बुढाथोकीको निर्देशनमा बनेको “मोहनी” ले राम्रो सफलता आर्जन गर्यो । “मोहनी” सफल भएपछि उहाँको सामु चलचित्र लेख्ने प्रस्तावहरु ओइरीन थाले । यसै बीच उहाँले निर्देशक अशोक शर्माको “नीरमाया”को लागि संवाद लेख्ने अभिभारा पाउनुभयो । यो चलचित्रको कथा भने संगीतकार शम्भुजित बाँसकोटाले सिर्जना गरेका हुन् । संगीतकार बाँस्कोटाले मौखिक वाचन गरेको कथालाई लेख्यवद्ध गर्ने र त्यसमा संवाद भर्ने काम शिव रेग्मीले गर्नुभएको थियो । “नीरमाया” पनि व्यवसायिक सफलता गरेको चलचित्र हो । “नीरमाया”का निर्देशक अशोक शर्मा हुनुहुन्छ र यो चलचित्रको सफलताबाट प्रभावित भएर उहाँले आफ्नो अर्को एक चलचित्र “अल्लारे”को लेखनको अभिभारा पनि उहाँलाइ नै सुम्पनु भयो । “अल्लारे”को कथाकार पनि शम्भुजित बास्कोटा नै हुनुहुन्छ । यी चलचित्रहरु लगायत उहाँले “गोर्खाली” लगायतका केही अरु चलचित्रहरुको लेखन कार्य गर्नु भएको छ ।

सफल लेखकका रुपमा आफ्नो पाइला अगाडि बढाएका शिव रेग्मीलाई पहिलो पटक निर्देशकका रुपमा पत्याउने निर्माता ईन्द्र गुरुङ्ग हुन् । शिव रेग्मी आफुले लेख्नु भएको “आफन्त”मा आफै निर्देशन गर्न चाहनुहुन्थ्यो । र केहि निर्माताहरुलाई “आफन्त”को कथा पनि सुनाउनु पनि भयो तर उहाँको त्यो कथामा लगानी गर्न कसैले पनि मानेनन् । उहाँले ईन्द्र गुरुङ्गलाई पनि त्यो कथा सुनाउनु भयो । उहाँले ईन्द्र गुरुङ्गसँग “सिन्दूरपोते”मा काम गरीसक्नु भएको थियो । “सिन्दूरपोते”का लेखक शिव रेग्मी थिए भने ईन्द्र गुरुङ्ग अभिनेता र निर्माता थिए । त्यसैले उनले उहाँमाथि विश्वास गर्नु भयो र “आफन्त” निर्माण गर्ने जिम्मेवारी उठाउनु भयो । निरुता सिंह, श्रीकृष्ण श्रेष्ठ र बाल कलाकार सलोन बस्नेतको प्रमुख भुमिका रहेको “आफन्त” विशेषगरी नारी दर्शकको मनमा गहिरो छाप छोड्न सफल चलचित्र हो । उहाँका धेरै जसो चलचित्रले सफल प्रदर्शनको एकाउन्न दिन, सय दिन मनाएको किर्तिमान छ भने “आफ्नो मान्छे” सफल भएको अवसरमा कार्यक्रम आयोजना गरिएको दिन राति अबेरसम्म नीर शाह लगायतका केहि पाहुनाहरु कुराकानीमा व्यस्त हुनुहुन्थ्यो र त्यति नै बेला राजदरबारमा अप्रिय घटना घटेको समाचार आएको कुरा उहाँ सुनाउने गर्नु हुन्थ्यो ।

regmi-amar
“आफन्त” पछि उहाँको निर्देशन यात्रा पनि अघि बढ्दै गयो । एकपछि अर्को सफल भएपछी शिव रेग्मीले पारसमणीको उपनाम पनि पाउनुभयो । आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुखदुःख, कहाँ भेटिएला, दुनियाँ ,मुगलान, हामी तीन भाई लगायत एक दर्जनभन्दा बढी सफल चलचित्रहरुको लेखक, निर्देशक रहेका शिव रेग्मीले “मानिस” नामक एउटा चलचित्र निर्माण पनि गर्नुभयो । समाजले अपराधीको संज्ञा दिएका केही कैदीहरुलाई कैदमा थुनेर हैन, समाजमा समाहित गरेर परिवर्तन गर्नुपर्छ भन्ने सन्देश बोकेको “मानिस” वास्तवमा एउटा सशक्त चलचित्र थियो । यथार्थवादी चलचित्र थियो । तर यो तीतो यथार्थ दर्शकलाई पाच्य हुन सकेन । आर्थिक रुपमा उहाँले यस चलचित्रबाट ठूलो घाटा व्यहोर्नु पर्योथ । पाहुना, उपहार, युद्ध, राम बलराम, फूल, हाँसी देऊ एक फेर, अर्जुनदेव, साथी म तिम्रो, सो सिम्पल लगायतका चलचित्रहरुको लेखन र निर्देशन गरेका शिव रेग्मीको प्रदर्शन हुन बाँकी चलचित्रहरुमा कलाकार निर्माता गोविन्द शाहीको “पराई” र कलाकार निर्माता वीरेन श्रेष्ठको “मनले मनलाई छुन्छ” अब छिट्टै प्रदर्शन हुने भएको छ ।

शिव रेग्मी सानै उमेरदेखि कला क्षेत्रमा होम्मिनु भएको थियो र आफ्नो गृह नगरमा हुने धेरै साँस्कृतिक कार्यक्रमहरुमा भाग लिनुभयो । नारायणगढको प्रसिद्ध साँस्कृतिक केन्द्र नारायणी कला केन्द्रको आजिवन सदस्यसम्म बन्नु भएका शिव रेग्मीले त्यहाँ हुने विभिन्न कार्यक्रमहरुमा नाट्य निर्देशन गर्नुभयो । अभिनय गर्नुभयो । लेखन कार्य गर्नुभयो । त्यत्तिमात्र नभई त्यस्ता कार्यक्रमहरुमा नृत्य समेत प्रस्तुत गर्नुभयो । वि.सं.२०४७सालदेखि आफ्नो कलायात्रा थालनी गर्नु हुने अमर कलाकर्मि शिव रेग्मीले शुरुमा रङ्गमञ्चमा अभिनय र लेखन मार्फत आफ्नो प्रतिभा प्रदर्शन भयो । उहाँले लेख्नु भएको एउटा नाटक “स्वदेशभित्र हराएको नागरीक” त वि.सं.२०५० सालको राष्ट्रिय नाटक महोत्सवमा सर्वोत्कृष्ट नाटकको पुरस्कार पनि जित्न सफल भयो । यस्तै गरी उहाँको अर्को एउटा नाटक “नेपाली खै” दुईसयभन्दा बढी पटक मञ्चन गरिएको नाटक थियो । उहाँका अन्य चर्चित नाटकहरुमा श्रीमतिको औषधी , क्रमशः , यो कस्तो ज्वांई , भट्टेकाजिको सपना, कुसुम, सहारा, माटो बोल्दैन आदिको नाम अग्रपंक्तिमा पर्न आउँछ ।

यसरी कलाका विविध फाँटमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै कला यात्रा अगाडि बढाउनु भएका शिव रेग्मी चलचित्रमा एक अभिनेताका रुपमा स्थापित हुन चाहन्थे । त्यसै उहाँले एउटा भिडियो चलचित्रमा नायक भई अभिनय पनि गर्नु भयो । तर उनको अभिनय यात्रा भने सफल हुन सकेन ।

मानिस, पाहुना, साथी म तिम्रो, हाँसिदेउ एकफेर जस्ता केही चलचित्रहरुले दर्शकको मन जित्न नसक्दा उहाँ आलोचनाको शिकार पनि बन्नुभयो तर आफु प्रति लक्षित यस्ता आलोचनाहरुबाट उहाँ कहिल्यै विचलित हुनुभएन । संधैं तत्पर भई अगाडि बढी नै रहनुभयो । असाध्य रोगबाट ग्रस्त भएर थलिनु भएपछि पनि उहाँ नेपाललाई ओस्कार अवार्डमा प्रतिनिधित्व गराउने चलचित्र बनाउने योजनामा लागिरहनु भएको थियो । यसकोलागि उहाँले वीर भक्ति सिंहको कथामा चलचित्र बनाउने योजना बनाउनु भएको थियो । तर त्यो योजना भने पुरा हुन पाएन । थुप्रै सम्मान र पुरस्कारहरुबाट सम्मानित हुनुभएका शिव रेग्मीले “कहाँ भेटिएला”का लागि विभिन्न पुरस्कार समारोहहरुमा विविध पुरस्कार जितेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ । चौंथौं नेफ्टा अवार्डमा यसै चलचित्रबाट सर्वश्रेष्ठ संवाद लेखकको पुरस्कार पाउनु भएको थियो भने राष्ट्रिय चलचित्र पुरस्कार २०६५ मा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार हासिल गर्नुभएको थियो । बक्स अफिस अवार्डमा भने “कहाँ भेटिएला”मा भने यो चलचित्र सर्वोत्कृष्ट पुरस्कार हासिल गर्न सफल भएको थियो । उहाँले “मानिस”को लागि सर्वश्रेष्ठ निर्देशकको नेफ्टा अवार्ड हासिल गर्नु भएको थियो ।
वि.सं. २०५१ भदौ ५ गतेका दिन पिता खगराज रेग्मी र आमा भक्तमाया रेग्मीको कोखबाट चितवनको नारायणगढमा जन्मनु भएका शिव रेग्मीको नाम उल्लेख गरे विना नेपाली चलचित्रको ईतिहास अधुरो र अपुरो रहनेछ ।

ईतिहासको त्यस्तो ज्वाजल्यमान नक्षत्र शिव रेग्मी आफ्नो त्यो ईतिहासको यात्रालाई अधुरो छोडेर स्वयं ईतिहास बन्नका लागि यो नश्वर संसारबाट गत मंसीर २४ गते विहान विलिन हुनुभयो । उहाँ आज सबैको मनमा गहिरो चोट पुर्यागएर यो नश्वर संसारबाट विलिन हुनुभयो । भौतिक शरीर नरहे पनि उहाँ आफ्ना अनुपम चलचित्रहरुका माध्यमबाट सदासर्वदा हामी बीच रहिरहनु हुनेछ अर्थात उहाँ अमर हुनु भएको छ । महान सर्जक शिव रेग्मीमा यही शब्द श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu