
काठमाडौं – लामो समयदेखि ठूलो पर्दाबाट टाढा रहेकी चर्चित नायिका पूजना प्रधान अब चलचित्र ‘महाराजधिराज’ मार्फत अभिनयमा फर्किने भएकी छन्। सोसल पिरियड ड्रामामा निर्माण भइरहेको यस बहुप्रतीक्षित चलचित्रको छायांकन मध्यतिर पुग्दा निर्माण टोलीले नायिका प्रधानलाई औपचारिक रूपमा अनुबन्ध गर्दै उनको कमब्याकको बाटो खुला गरेको हो। सोमबार चलचित्रको ३३औँ दिनको छायांकन चलिरहेको अवस्थामा निर्माण पक्षले पूजनाको प्रवेशबारे आधिकारिक जानकारी गराएको हो। चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले आफूहरू चलचित्रको एक विशेष भूमिकाका लागि अब्बल र अनुभवी कलाकारको खोजीमा रहेको र पूजनाको अनुबन्धसँगै चलचित्रको सम्पूर्ण टोली थप सशक्त बनेको विश्वास व्यक्त गरेका छन्।
हाल यस चलचित्रको छायांकन काठमाडौँका विभिन्न स्थानमा धमाधम भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुटिङ सुरु गरेको निर्माण टोलीले भक्तपुरमा पनि केही महत्त्वपूर्ण दृश्यहरू कैद गरिसकेको छ भने अहिले राजधानीमा बाँकी काम भइरहेको छ। निर्माण पक्षका अनुसार, यस चलचित्रको कुल छायांकन तालिका ७० दिनको तय गरिएको छ। परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको ‘महाराजधिराज’ लाई नवराज थापाले क्यामेरामा उतारिरहेका छन्। निर्देशक सेनले यस सिनेमाले गहिरो सामाजिक र ऐतिहासिक परिवेशको मर्मस्पर्शी कथालाई पर्दामा ल्याउने बताएका छन्।
विशेष कुरा त के छ भने, पूजनाले जुन चलचित्रबाट कमब्याक गर्दैछिन्, त्यो नेपाली चलचित्र उद्योगकै एक विशाल र बहुस्टारर प्रोजेक्ट हो। यस चलचित्रमा करिब ८० जना कलाकारहरूको बाक्लो उपस्थिति रहनेछ। आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी. र सुशील सिटौला जस्ता स्थापित स्टारहरूको जम्बो टोलीमा अब पूजना पनि मिसिएकी छन्। यसका साथै नीर शाह, विशाल पहाडी, हिउँवाला गौतम, प्रिया रिजाल, आशा पौडेलदेखि लिएर कमल गाउँले, शिशिर भण्डारीलगायत दर्जनौँ प्रतिभावान कलाकारहरू यसै चलचित्रमार्फत एउटै पर्दामा देखिनेछन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्। यति ठूलो स्टारकास्ट र भव्य क्यानभास बोकेको चलचित्रमार्फत पुनरागमन गर्न लागेकी पूजना प्रधानको भूमिका कस्तो हुनेछ भन्ने विषयलाई लिएर यतिबेला दर्शक तथा चलचित्र वृत्तमा निकै उत्सुकता बढेको छ।


