
काठमाडौं – आगामी साउन १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘गौँथली’ मार्फत दर्शकले अरुण क्षेत्री र सिम्रन खड्काको फ्रेस तथा ऊर्जावान जोडीलाई पहिलोपटक ठूलो पर्दामा सँगै देख्न पाउने भएका छन्। निर्देशक डा. कपिल रिजालले यस चलचित्रमार्फत उनीहरूलाई अनस्क्रिन श्रीमान् र श्रीमतीको भूमिकामा बाँधेका हुन्। ‘महापुरुष’ जस्तो सफल चलचित्रबाट दर्शकको मन जितेका अरुण र ‘प्रेमगन्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’ जस्ता सिनेमाहरूबाट आफ्नो अब्बल अभिनय कला प्रमाणित गरिसकेकी सिम्रनको यो नयाँ सहकार्यलाई लिएर चलचित्र वृत्तमा निकै कौतूहल छाएको छ। निर्माण पक्षका अनुसार, चलचित्रको नाम ‘गौँथली’ ले घर, परिवार र मानिसहरूबीचको आपसी सामीप्यतालाई प्रतीकात्मक रूपमा बुझाउँछ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा मुख्य जोडीका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायतका अनुभवी कलाकारहरूको बलियो लाइनअप रहेको छ। साथै, बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीलाई पनि पर्दामा देख्न सकिनेछ। डा. भोला रिजालको कथा रहेको यस सिनेमाको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। सरला रिजाल कार्यकारी निर्माता रहेको ‘गौँथली’ मा सुमन गिरी र डा. कपिल रिजाल निर्माताका रूपमा रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओलीले सह-निर्माताको जिम्मेवारी सम्हालेका छन्।
प्राविधिक पक्षतर्फ पनि चलचित्र निकै मजबुत देखिएको छ। हरि हुमागाईंको उत्कृष्ट छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको सिनेमामा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले सङ्गीत भरेका छन् भने एलिस कार्कीको पार्श्व सङ्गीत (ब्याकग्राउन्ड स्कोर) सुन्न पाइनेछ। रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको सिनेमामा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन्। रोचक कुरा के छ भने, ठिक दुई दशकअघि वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नामकै चलचित्रले प्रदर्शनको ५१औँ दिन मनाउँदै नेपालको पहिलो ‘गीति चलचित्र’ (म्युजिकल फिल्म) को इतिहास रचेको थियो। अहिले सोही ऐतिहासिक नामलाई सापटी लिँदै उनका छोरा डा. कपिल रिजालले यो नयाँ कथाको ‘गौँथली’ निर्देशन गरेका हुन्। निर्माण सम्पन्न भइसकेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन् भने ओएसआर डिजिटल यसको डिजिटल पार्टनर रहेको छ।


