२०६८ सालमा २१ वर्षिय रोजी महर्जनको हत्या प्रकरणसँग नजिक भएर अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म ‘रोजी’ निर्माण हुन लागेको सिनेवृतमा चर्चा सुरु भएको छ । प्रहरी अनुसन्धानको क्रममा रोजीको हत्या प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले गरेको खुलेको थियो ।
लोहारले फिरौतीबापत २० लाख पाउने आशमा महर्जनमाथी गोली चलाएको प्रहरीसमक्ष बयान दिएका थिए । अहिले सुबास र लोहार जेल जीवन विताइरहेका छन् ।
चलचित्र ‘रोजी’ मा पनि प्रेमिकाको हत्या आफ्नै प्रेमीले गरेको दृश्य छ । गएको केही दिन अगाडि बालाजुमा रहेको एनएफडिसीको हलमा अदालतको कठघरामा प्रदीप आफ्नी प्रेमिकाको हत्या आफूले नै गरेको स्विकार गरिरहेको अवस्थामा भेटिएका थिए । उनी भन्दै थिए, ‘रोजीलाई मैले मारेको होइन । मुक्ति दिएको हुँ ।’
चलचित्रको नाम रोजी महर्जनकै नामबाट राखिनु, महर्जनको हत्या योजना आफ्नै प्रेमीले बनाएझैँ चलचित्रमा पनि प्रेमिकाको हत्या आफ्नै प्रेमीले गरेको दृश्य राखिनुले पनि प्रदीपको ‘रोजी’ रोजी महर्जनको वास्तविक घट्नासँग नजिक भएर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ ।
यसमा प्रदीपको प्रेमिकाको भूमिका अभिनेत्री परमिता आरएल राणाले निर्वाहा गर्दैछिन् । मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरुको पनि यस चलचित्रमा अभिनय रहनेछ । निरक पौडेलले यसलाई निर्देशन गर्दैछन् ।