प्रदीपको ‘लभ स्टेशन’ को घोषणा



चैत ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ ले प्रदर्शनको ५१ औं दिन मनाएको अवसरमा निर्माता गोविन्द शाहीले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । आइतवार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बीच टाइटल र मुख्य अभिनेताको नाम सार्वजनिक गरियो ।

‘लभ स्टेशन’ नाम राखिएको चलचित्रमा अभिनेता प्रदीप खड्का लिड रोलमा रहनेछन् । काफिया फिल्मस्ले निर्माण गर्न लागेको यस चलचित्रको छायांकन अमेरिका र नेपालमा हुनेछ । यसलाई उज्जवल घिमिरेले निर्देशन गर्दैछन् ।


प्रदीपसँगै यस चलचित्रमा जसिता गुरुङको पनि लिड रोल रहने खबर प्राप्त छ । उनी अहिले अध्ययनका लागि लण्डनमा छिन् । तर, चलचित्रमा उनी अनुबन्ध भइनसकेको निर्माता शाहीले जानकारी दिए । अहिले यस चलचित्रका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि छलफल भइरहेको छ ।

निर्देशक घिमिरे अहिले चलचित्रको लोकेसन हन्टिङका लागि अमेरिकामा छन् । उनी नेपाल फर्केपश्चात् नायिकाको टंगो लाग्ने निर्माता शाहीले बताए । चलचित्रले एक आमा छोरीको कथा बोल्नेछ । निर्माता शाही भन्छन्, ‘अहिले चलचित्रमा प्रदीपबाहेक अरु कोहिँ कलाकार कन्फर्म भएका छैनन् । निर्देशक नेपाल आएपछि नायिका छनौटमा जुट्ने छौ ।’

फ्लोरमा नजाँदै चलचित्रको प्रदर्शन मिति भने वर्ष २०७५ फागुन २४ गतेलाई पक्का गरिएको छ । अहिले यस चलचित्रको स्क्रिप्ट सुवास सिंह बस्नेतले लेखिरहेका छन् । यसमा अभिनेता प्रदीप पनि निर्माताको रुपमा रहनेछन् ।


कार्यक्रममा चलचित्र ’लिलिबिली’ ले प्रदर्शनको ५१ औं दिन मनाएको अवसरमा केक समेत काटिएको थियो । अभिनेता प्रदीपसँगै ’लिलिबिली’ निर्देशक मिलन चाम्स, निर्माता सुदीप खड्कालगायतको कार्यक्रममा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu