
काठमाडौं – आगामी असोज २ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिंगे दाउ २’ ले आफ्ना तीनवटा नयाँ पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचारप्रसार आरम्भ गरेको छ। निर्माण पक्षका अनुसार, यी अर्थपूर्ण पोस्टरहरूको सार्वजनिकसँगै अब चलचित्रको प्रमोसनलाई तीव्र गतिमा अघि बढाइनेछ। आगामी दिनमा दर्शकमाझ चलचित्रका सुमधुर गीत र रोचक ट्रेलर क्रमैसँग सार्वजनिक गर्दै जाने योजना निर्माण टोलीले बनाएको छ।
सार्वजनिक गरिएका तीनवटै पोस्टरले चलचित्रका विभिन्न महत्त्वपूर्ण पाटोहरूलाई प्रतीकात्मक रूपमा चित्रण गरेका छन्। एउटा पोस्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा प्रस्तुत भएका छन् भने हिउवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्टको अनुहारमा गहिरो भावुकता देख्न सकिन्छ। त्यसैगरी, दोस्रो पोस्टरले नेपालीहरूको महान् चाड दसैँको उमङ्गलाई बोकेको छ, जहाँ चलचित्रका मुख्य चार पात्रहरू दसैँको रमझममा रमाउँदै गरेको दृश्य कैद छ। यसले चलचित्रको कथावस्तुमा दसैँको विशेष सन्दर्भ जोडिएको प्रस्ट पार्छ। यता, तेस्रो पोस्टरमा भने अभिनेता आर्यन सिग्देललाई फरक अन्दाजमा देखाइएको छ। मुख्य चार पात्रहरू अचम्मित भावमा रहँदा आर्यनले उनीहरूलाई कुनै कुराबाट रोक्दै गरेको जस्तो रहस्यमय दृश्य पोस्टरमा प्रस्तुत छ, जसले चलचित्रप्रति दर्शकको कौतूहल अझै बढाउने निश्चित छ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्र्यू नेपाल प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्देशन सफल निर्देशक ज्ञानेन्द्र देउजाले गरेका हुन्। चलचित्रमा सुलभ प्रतिक, प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। यसमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट र आर्यन सिग्देलका साथै हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोद कुमार पौडेललगायतका थुप्रै स्थापित कलाकारहरूको सशक्त अभिनय रहेको छ। अझ विशेष कुरा त, यस चलचित्रमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई अतिथि कलाकारको रूपमा पर्दामा देख्न पाइनेछ।
परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले यसको पटकथा तथा संवाद तयार पारेका हुन्। विष्णु घिमिरे ‘कल्पित’ का साथै विवेक बस्नेत र ईश्वर सिन्केमनाको छायांकन रहेको यस चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन्। चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन (एक्सन) रहेको छ। त्यसैगरी, चन्द्रबहादुर भण्डारी र गिरिराज घिमिरेले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्। स्मरण रहोस्, तीन वर्षअघि रिलिज भएको यसको अघिल्लो शृङ्खला ‘झिंगे दाउ’ ले बक्स अफिसमा सानदार व्यापार गर्न सफल भएको थियो। अघिल्लो चलचित्रलाई जस्तै यसको सिक्वेल ‘झिंगे दाउ २’ लाई पनि दर्शकले अत्यधिक रुचाउने र अपार माया दिने अपेक्षा निर्माण पक्षले राखेको छ।


