नेपाली मुलकी चर्चित डान्सर तेरिया फौजा मगर अब नेपाली चलचित्रकी हिरोइन बन्ने भएकी छिन् । २०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’ की विजेता उनले ‘मायाको मोल’ नामक नेपाली चलचित्रमा काम गर्न लागेकी हुन् ।
यो चलचित्रलाई म्याक टेन कालुले निर्माण र निर्देशन गर्नेछन् । तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले यो चलचित्रको अफर गरेका थिए । सुरुमा काम नगर्ने बताएपनि पछि उनी चलचित्र गर्न राजी भएकी हुन् ।
यो चलचित्र उनले बिना पारिश्रमिक गर्ने बताइएको छ । सुजन भन्छन्, ‘उनले चलचित्रका लागि १ महिना समय दिनेछिन् । त्यसका लागि उनले एक रुपैयाँ पैसा नलिने बताएकी छन् ।’ चलचित्र ‘मायाको मोल’ मा तेरियालाई सुहाउँदो भूमिका रहेको उनी बताउँछन् ।
यसअघि म्याक टेनले ‘पटुकी’ नामक चलचित्र निर्माण गरेका थिए । अहिले चलचित्रका लागि गीत रेकडिङको काम भइरहेको छ । चलचित्रका गीतमा तेरियाका डान्स गुरु सुजन विश्वकर्माले कोरियोग्राफी गर्नेछन् ।
निर्देशक म्याक टेनले भने, ‘तेरिया अहिले मुम्बईमा हुनुहुन्छ । असार २८ गते नेपाल आउनु भएपछि एक कार्यक्रम गरेर चलचित्रको घोषणा गर्नेछौ । चलचित्रमा उहाँको अपोजिटमा आफ्नै छोरालाई प्रस्तुत गर्दैछु ।’ ‘मायाको मोल’ मा बिर्जन मिजारले तेरियासँग रोमान्स गर्नेछन् ।