अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर चलचित्र ‘वीराङ्गना’ यही असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेता पृथ्वीराज प्रसाई पनि प्रमुख भूमिकामा छन् ।
गीतसंगीत, एक्सन प्याक्ड ट्रेलर र पहिलो पटक शिल्पा र अनुपको जोडी पर्दामा देखिन लागेका कारण यो चलचित्रको दर्शकमा प्रतिक्षा केही बढी देखिन्छ । अब कन्टेन्ट कति बलियो छ ? चलचित्रको सफलता र असफलता यसमै निर्भर रहन्छ ।
अनुपबाहेक शिल्पा र पृथ्वीले ‘वीराङ्गना’ को प्रचारमा समय दिन कञ्जुस गरेका छैनन् । निर्माण टिमसँगको आपसी मनमुटावका कारण अनुप भने फिल्मको प्रचारमा नहिँड्ने सम्भावना प्रवल छ । तर, चलचित्रमा उनको उपस्थिति हुनु पनि हलसम्म दर्शक तान्ने एउटा प्रमुख आधार हो ।
चलचित्र ‘कृ’ रिलिजपछि उनको लोकप्रियता थप चुलिएको छ । यसकारण अनुपको बढ्दो क्रेजको फाइदा ‘वीराङ्गना’ ले उठाउने निर्माण टिमको विश्वास छ । उता अभिनेत्री शिल्पा पोखरेल आफ्नै बलबुतोमा चलचित्रलाई सफलताको रेखासम्म पुर्याउने सामर्थ राख्छिन् । ‘लज्जा’, ‘हवलदार सुन्तली’, ‘मंगलम्’ यसका उदाहरण हुन् ।
पर्दामा एक्सन अवतारमा उनलाई ‘फिट’ अभिनेत्री मानिन्छ । ‘वीराङ्गना’ मा उनको भरपूर एक्सन सिन रहेको ट्रेलर आफै बोल्छ । बक्सअफिसमा आफूलाई हिट चलचित्रको सूचीमा नाम लेखाएको ‘मंगलम्’ पछि शिल्पा पर्दामा नदेखिएका कारण यो चलचित्रले व्यापारिक रुपमा केही कमाल मच्चाउन सक्ने चलचित्रकर्मीहरुको अनुमान छ ।
प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको समेत अभिनय रहेको ‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक स्वयमको हो ।
यो चलचित्र फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयूक्त रुपमा निर्माण गरेका हुन् । यसमा सुमी चामलिङ राई सह-निर्माता रहेकी छिन् ।