शम्भुजित बाँस्कोटा एकसमयका चलेका गायकको रूपमा चिनिन्थे । उनले गाएका धेरै गीत सुन्न पाइन्थ्यो । तर पछिल्लो समय उनले गाएका गीत निकै कम सुन्न पाइन्छ ।
केही समयदेखि चलचित्रका गीत संगीतमा कमै मात्र सक्रिय रहेका बाँस्कोटाले असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’ को शिर्ष गीत गाएका छन् ।

मंगलवार यूट्युबमा रिलिज भएको गीतमा गायक तथा संगीतकार टंक बुढाथोकीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ फिचर्ड छन् ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
यो चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।
उक्त चलचित्रमा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् ।
गीत हेर्नुहोस् :-




