अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘रोजी’ आउँदो भाद्र २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि यो मितिमा चलचित्र ‘रामकहानी’ र ‘सुश्री सम्पत्ति’ आउने पक्का भएको थियो । अब भाद्र २२ मा तीन ठूला चलचित्र एक आपसमा भिड्ने भएका छन् ।
‘रोजी’ का वितरक गोविन्द शाहीले भने, ‘हामी भदौ १५ मा आउने कुरा थियो । तर उक्त मितिमा सन्तोष सेनको ‘मेरी मामु’ आउने भएपछि भदौ २२ रोजेका हौं ।’

चलचित्र ‘रोजी’ को टीजर सार्वजनिक भइसकेको छ । चलचित्रमा अभिनेता खड्का एक किलरको भूमिकामा प्रस्तुत छन् । निरक पौडेल निर्देशित यो चलचित्रमा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरु पनि अभिनय छ ।
हरेक वर्षका तीजमा नेपाली चलचित्रले सोलो रिलिजको मौका पाएका उदाहरण निकै कम छन् । यस वर्ष पनि तीन ठूला चलचित्र एकै मितिमा रिलिज हुने भएपछि यतिबेला सिनेवृत तरंगीत बनेको छ ।




