‘बाबु कान्छा’ पारिवारिक चलचित्र : सलोन बस्नेत



असार २९ गते अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर चलचित्र ‘बाबु कान्छा’ देशव्यापी प्रदर्शनमा आउँदैछ ।

गीतसंगीत र ट्रेलरबाट नै चर्चा पाएको चलचित्रको टिम मोफसल प्रचारका लागि शुक्रवार हेटौंडा हुँदै चितवन पुगेको छ । टुरमा सलोन र करिश्मासँगै सह-निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रवि अधिकारी छन् ।

चितवनमा आयोजित पत्रकार भेटघाटमा आफ्नो कुरा गर्दै अभिनेता बस्नेतले ‘बाबु कान्छा’ स-परिवार बसेर हेर्न मिल्ने चलचित्र बनेको बताए । उनले भने, ‘मलाई सधैं भन्नुहुन्थ्यो बुबा (शोभित बस्नेत) को एक्सन कटमा कहिले काम गर्ने भनेर । यो चलचित्रबाट त्यसको जवाफ दिएको छु ।’ उनी दर्शकले चलचित्रबाट भरपूर मनोरञ्जन दिने दाबी गर्छन् ।


चितवन, बिरगंज, लम्जुङको घले गाँउ र काठमाण्डौमा छायांकन गरिएको चलचित्रको बजेट ७० लाख रहेको सलोनले खुलाए । उनले चलचित्रको टीजर र ट्रेलरमा १७ वर्ष अघिको चलचित्र ‘नेपाली बाबु’ को एक इमोसनल सिन रखिएको प्रश्नमा पनि जवाफ दिए ।

‘मैले सानोमा धेरै चलचित्रमा बालकलाकारको रुपमा काम गरेको थिएँ । बाल कलाकारको रुपमा काम गर्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न ‘नेपाली बाबु’ को त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखेका हौं’, उनले भने ।

अभिनेत्री करिश्मा श्रेष्ठले चलचित्रमा आफू एक सामान्य यूवतीको भूमिकामा रहेको बताइन् । चलचित्र ‘लभ सब’ बाट रजटपटमा भित्रिएकी उनको यो दोस्रो चलचित्र हो । ‘बाबु कान्छा’ मा उनले आफ्नो रियल प्रेमी सलोनसँग जोडी बाँधेकी छन् ।

यस चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

उक्त चलचित्रमा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu