‘नाईं नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक (भिडियो)



आउँदो भदौ ८ गतेलाई प्रदर्शन मिति तय गरिएको बहुप्रतिक्षीत चलचित्र ‘नाईं नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा विशेष फोकस गरिएको छ ।

निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् । ट्रेलरमा प्रयोग गरिएका संवादहरु घतलाग्दा छन् । लोकेशन र खिचाई पनि उत्कृष्ट छ ।

चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । चलचित्रमा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।

बसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फिल्म रहेको बताए ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । चलचित्रका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले पनि थप अब्बल बनेको छ । यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं ।’

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu