नेपाली फिल्मका आलोचकको लागि फाईदाजनक यी तीन हप्ता



nepali-film-in-shadow
बैकुण्ठराज पराजुली, काठमाण्डौ।
 कुनै समय एकै हप्ता चार देखी पाँच वटा सम्म चलचित्र प्रदर्शनमा आउने नेपाली चलचित्र बजारमा यो हप्ता पनि कुनै पनि चलचित्र प्रदर्शनमा आएनन । बलिउड चलचित्र ‘धुम-३’ प्रदर्शन हुने भएपछि गत हप्ता पनि कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । र यो क्रमले अर्को हप्ता पनि निरन्तरता पाउने देखिएको छ । किनकी शुक्रवार सम्म हामीलाई प्राप्त जानकारी अनुसार अर्को हप्ताको लागी पनि कुनै नेपाली चलचित्रको प्रदर्शनको मिति तोकिएको छैन ।

तीन हप्ता सम्म लगातार कुनै पनि चलचित्र प्रदर्शनको लागी तयार नभएपछी धेरैले बलिउड चलचित्र ‘धुम-३’ को छायाँमा नेपाली निर्माता परेर चलचित्र प्रदर्शन गर्न डराएको तर्क गरेका छन । हुन पनि बलिउड स्टार आमिर खानको यो चलचित्र प्रदर्शनको समयमा नै आएर नेपाली चलचित्र प्रदर्शनमा नआउनु अनी एकैपटक पौष २६ मा भने चार-चार वटा चलचित्र प्रदर्शनमा आउने तयारी हुनुले आलोचकहरुलाई आलोचना गर्न भरपुर फाईदा पुगेको छ ।

खासमा नै नेपाली चलचित्रको बजार सानो छ । हप्तामा एउटा मात्र चलचित्र प्रदर्शनमा आउँदा समेत राम्रो कथामा नबनेका चलचित्रलाई दर्शकले एक हप्तामा नै बिदा गरिदिने गरेका छन् । यो अवस्थामा नेपाली चलचित्रको बजारलाई अनि सम्बन्धित चलचित्रको निर्मातालाई एउटा चलचित्र प्रदर्शनमा आउनु नै राम्रो हुन्छ । तर यसमा पनि चलचित्र दर्शकको चाहनानुसारको त बन्नु पर्छ नै ।

नेपाली चलचित्र राम्रो नबनेको भन्दै हलसम्म नै नजाने नेपाली दर्शकहरु ‘धुम-३’ हेर्न एकैपटक उर्लेपछी राजधानी का सबैजसो हलहरु गत हप्ता पुर्णतः हाउसफुल भए । तीन हप्तासम्म ‘धुम-३’ लाई अवसर दिने नेपाली चलचित्र निर्माताहरुले पौष २६ गते भने पछिल्लो समय धेरै चर्चामा रहेका चलचित्र ‘बितेका पल’, ‘छ एकान छ’ प्रदर्शन हुँदैछन भने यी दुई चलचित्रसँग अर्का दुई चलचित्र ‘पराई’ र ‘योद्धा’ पनि भिड्ने तयारीमा छन् ।

त्यसैले पनि सँधै जसो ‘नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकेनन’, भन्ने वाक्यबाट समाचार सुरु गर्न नेपाली सिने पत्रकारहरुलाई वानी नै पर्न थालिसकेको छ । नेपाली चलचित्र एक हप्ता सम्म पनि हलमा नटिक्ने अनि बलिउड चलचित्र हेर्न तीन-चार हप्तासम्म पनि नेपाली दर्शकको ओईरो लागिरहेपछी अन्ततः नेपाली चलचित्रमा दर्शकको आवश्यकता अनुसारको अनि चाहना अनुसारको कथा नसमेटिको नै हो भन्ने मा कुनै दुई मत नहोला ।

चलचित्र राम्रो हुँदा-हुँदै पनि फलानो चलचित्रको लागी फलानो समय राम्रो नभएकोले चलचित्रले राम्रो व्यापार गर्न सकेन भन्ने केही निर्माता, निर्देशकहरु पनि हाम्रै चलचित्र उद्योग भित्रै छन । तर यसभन्दा पहिले कतिपय चलचित्रले दर्शकको मन जित्दै ५१औं दिन सम्म मनाएका उदाहरणका बारेमा पनि सोच्नु जरुरी छ, जसले बताउँछ की किन अनि कस्ता नेपाली चलचित्र चल्छन र किन र कस्ता चलचित्र चल्दैनन भनेर । वा भनौं, कस्तो समय नेपाली चलचित्रको लागि प्रदर्शनको अनुकुल समय हो र कस्तो समय प्रतिकुल हो भनेर पनि । त्यसैले ति निर्माता निर्देशकले आफ्नो चलचित्रले किन व्यापार गर्न सकेन र दर्शकले किन मन पराएनन भन्ने कुरामा केहि कुरा बोल्नु भन्दा पहिले यो कुरालाई र केहि पुराना ईतिहासहरुलाई स्मरण गर्नु पनि जरुरी छ ।

हाम्रो आशा भनेको केवल नेपाली चलचित्र राम्रा बनुन अनी राम्रो व्यापार पनि गरुन्, र दर्शकको मन मनमा बस्न सकुन भन्ने हो । त्यसैले आगामी दिनहरुमा नेपाली चलचित्रको प्रदर्शन पश्चातको समाचार लेख्दा फलानो चलचित्र एक हप्तासम्म पनि टिकेन, अनी फलानो चलचित्रले राम्रो व्यापार गरेन भन्ने समाचार लेख्न नपरोस बास् मेरो यती कामना ।
जय नेपाली सिनेमा !!!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu