साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पण्डित बाजेको लौरी’ को पोस्टर सार्वजनिक भएको छ । जसमा, कलाकार प्रविन खतिवडालाई पण्डित बाजेको भेषमा देख्न सकिन्छ ।
एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको चलचित्रले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । निर्देशक दीपक ओलीले तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई चलचित्रमा देखाउन खोजिएको बताए ।
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।