यही शुक्रवारबाट अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर चलचित्र ‘वीराङ्गना’ देशव्यापी प्रदर्शनमा आउँदैछ । यो कपलले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गरेका हुन् ।
दुवै यस फिल्ममा शसस्त्र प्रहरीको भुमिकामा प्रस्तुत छन् । भिलेनमा सर्वाधिक रुचाइएका अनुप र एक्सन अवतारमा फिट मानिने शिल्पाको केमेष्ट्रीको ‘वीराङ्गना’ को गीतसंगीत र ट्रेलरबाट राम्रो प्रतिक्रिया मिलेको छ ।
अब हलमा चलचित्र कस्तो चल्ला ? यो हेर्न बाँकी छ । महिला शसस्त्र प्रहरीको विरतामा आधारित चलचित्र ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । चलचित्रमा पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको पनि अभिनय रहेको छ ।
यो चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अब १६ वर्ष उमेर मुनीकाले चलचित्र हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ । ‘वीराङ्गना’ २ घण्टा ३० मिनेट लामो छ ।
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।
चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन रहेको छ ।