वर्षौदेखि बहसमा मात्र सिमित रहेको बक्सअफिस प्रणाली साउन १ गतेबाट उपत्यकामा लागू हुने भएको छ । केही हलबाहेक अधिकांशमा बक्सअफिस सिस्टम जडान भइसकेको छ ।
चलचित्र विकास बोर्डबाट सुत्रले दिएको जानकारी अनुसार, असार मसान्तभित्र उपत्यकाका सबै हलमा बक्सअफिस सिस्टम जडान हुनेछ । साउन १ गते सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उपत्यकामा औपचारिक रुपमा बक्सअफिसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

वर्तमान सरकारद्वारा जारी ०७५/०७६ को बजेटमा राजश्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागू गर्ने निर्णय पश्चात् साउन १ गतेबाट उपत्यकामा बक्सअफिस प्रणाली लागू हुन लागेको हो ।
उपत्यका बाहिरका हलमा भने अर्को आर्थिक वर्षको अन्त्यसम्ममा बक्सअफिस सिस्टम जडान गरिसक्ने चलचित्र विकास बोर्डको तयारी छ । बक्सअफिस लागू हुँदा निर्माताले आफ्नो चलचित्रको यकिन कलेक्सन सहजै थाहा पाउनेछन् भने राज्यलाई पनि राजश्व संकलनमा ठूलो मद्दत पुग्नेछ ।




