यस वर्षको दशैंमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’ को गीतको छायांकन सकिएको छ । एक दर्जन कलाकार नाचेको गीतको छायांकन एक साता लगाएर शनिबार सकिएको निर्देशक दिपाश्री निरौलाले बताइन् ।
यसपाली पानीले दुःख दियो, दीपाश्रीले भनिन्, ‘जसोतसो गरी सुटिङ सक्यौं । अब एडिटिङगको काम हुँदैछ ।’ दीपाका अनुसार पहिलो नम्वरमा बोलको गीत गोकर्ण र नर्लिन रिसोर्टमा खिचिएको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् ।
दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने स्वर डेभिड शंकर र विन्दु परियारको छ । गीतमा पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठ दुवैले खिचेका छन् ।