अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ साउन १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो कपलले पहिलो पटक सँगै काम गरेका हुन् ।
ट्रेलर र गीतसंगीतबाट जोडी सुहाएको कमेन्टले यतिबेला आर्यन र साम्राज्ञी दुवै दंग छन् । साम्राज्ञी भन्छिन्, ‘रिलिजको हिसाबमा ‘कायरा’ मेरो चौँथो चलचित्र हो । आजसम्म कुनै पनि फिल्मबाट यति राम्रो फिडब्याक पाएकी थिइनँ ।’

अभिनेता सिग्देलले भने स्क्रिप्ट सुन्दै गर्दा साम्राज्ञीसँग आफ्नो जोडी नसुहाउने सोचेका रहेछन् । उनले निर्देशक लक्ष्मण रिजाललाई जर्वजस्ती जोडी बाँध्नुभन्दा नयाँ केटा खोज्न सल्लाह पनि दिएका थिए । निर्देशक रिजालले दुवैको केमेस्ट्री सुहाउने आश्वासन दिए पश्चात् आर्यन चलचित्र गर्न राजी भएका थिए ।
‘साम्राज्ञीले अहिलेको पुस्ताको प्रतिनिधित्व गर्छिन् । म अलि अगाडिको हुँ । कसरी केमेस्ट्री सुहाउँला भन्ने खुब डर थियो । चलचित्र गर्दा म साम्राज्ञीको समयमा जानु पर्थ्यो । मेरो लागि यो ठूलो चुनौती थियो’, उनले भने । ट्रेलर र गीतमा जोडी सुहाएको प्रतिक्रियापछि भने आर्यनले खुसीको सास फेरेका छन् ।
साम्राज्ञीलाई लिएर आर्यनले ‘सेभ साइड’ खोजेको आरोप पनि छ । एकपछि अर्को चलचित्र बक्सअफिसमा असफल हुँदा उनको स्टारडममाथि ठूलो चोट पुगेको छ । उनी यसको दोषी आफू स्वयमलाई ठान्दछन् । तर, साम्राज्ञी लिएर आफू फेरि चम्किन खोजेको आरोप भने गलत रहेको उनको भनाई छ ।
उनी भन्छन्, ‘साम्राज्ञीलाई लिएर म ‘सेल्फ ल्यान्डिङ’ हुन खोजेको अवश्य होइन । चलचित्रको स्क्रिप्टले नै उनलाई खोजेका कारण लिएका हौं । मान्छु, उनको क्रेज अहिले राम्रो छ । उनी पहिलाकी आर्यन सिग्देल हुन् ।’
दुवैले भविष्यमा राम्रो प्रोजेक्ट मिले फेरि सँगै काम गर्न इच्छुक रहेको बताएका छन् । चलचित्रमा साम्राज्ञी टाइटल क्यारेक्टरमा छिन् भने आर्यन जयको भूमिकामा छन् । लक्ष्मण रिजाल निर्देशित उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।

कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् ।
यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले चलचित्रका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।




