नेपालमा एलियनको कथामा चलचित्र निर्माण हुने भएको छ । चलचित्रको नाम ‘एलियन्स’ राखिएको छ ।
लोकनाथ गौतमले निर्देशन गर्ने चलचित्रको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ । एलियनको बारे २ वर्षको रिसर्च पश्चात् फिल्म निर्माण गर्न लागिएको हो ।
एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नु पर्ने भएकाले चलचित्रको लागत खर्च अत्याधिक हुने निर्देशक गौतमले जानकारी दिए ।

उच्च प्राबिधिक र उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ । नेपाली चलचित्र पनि स्तरिय बन्नु पर्ने र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका साथ उक्त महत्वकांक्षी चलचित्र निर्माण गर्ने आँट गरेको निर्देशकले बताए ।
कलाकार र बाँकी टिमसहित चाँडै चलचित्रको औपचारिक निर्माण घोषणा गर्ने बताइएको छ । निर्देशक गौतमले यसअघि ‘रोमान्स’ र ‘लभ इज लाइफ’ चलचित्र निर्देशन र निर्माण गरिसकेका छन् ।




