गायक तथा संगीतकार टंक बुढाथोकीलाई बाल गायक अशोक दर्जीलाई बेपत्ता बनाएको आरोप सहित निवेदन हालिएको छ । मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन हालेका हुन् ।
बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जीलाई लिएर गएका थिए । परिक्षा चलिरहेको बेला भोली नै फिर्ता ल्याउँछु भनी लगेको तर १७ दिनसम्म नल्याएकोले बेपत्ता बनाएको आरोप प्रिन्सिपल न्यौपानेको छ । न्यौपानेले ‘सम्बन्धित व्यक्ति झिकाई पाऊ’ शीर्षकको निवेदन हालेका हुन् ।

‘अशोकलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने?’ निवेदन हालेपछि न्यौपानेले भने । उनले अशोकलाई १२ कक्षासम्म पढाउने भनेर आफूले पनि अशोकका अभिभावकसँग सम्झौता गरका थिए तर टंकले काठमाण्डौमा नै पढाउन थालेको सुनेपछि उनले निवेदन हालेका हुन् ।
निवेदन परेपछि वडा कार्यालयले टंकलाई खोज्दा सम्पर्कमा नआएको बताईएको छ । यस बिषयमा वडा कार्यालयले आवश्यक कदम चाल्ने बताएको छ ।




