‘चिमुसीचि’ मा चलखेलको कथा



यही शुक्रवारबाट निर्देशक दिनेश श्रेष्ठ निर्देशित चलचित्र ‘चिमुसीचि’ देशैभरका सिनेमा घरहरुमा लाग्दैछ । गीतसंगीत र ट्रेलरले दर्शकमा चलचित्रप्रति चासो जगाइरहँदा निर्माण टिम प्रचार प्रसारमा पनि उत्तिकै खटिरहेको छ ।

यस चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की र अलिशा शर्मा प्रमुख भूमिकामा छन् । नामले फिल्म कमेडी र बालबालिकाको कथामा निर्माण भएको बुझिएपनि निर्देशक श्रेष्ठ चलचित्र म्यूजिकल थ्रिलर जनरामा निर्माण भएको बताउँछन् । उनी भन्छन्, ‘बालबालिकाको चलचित्र भन्ने त होइन । सबै वर्गले हेर्न मिल्ने बनेको छ । चलचित्रमा ठाउँ-ठाउँमा भने गतिलै ट्विस्ट आउँछ ।’


चलचित्रका कलाकारको क्यारेक्टर सस्पेन्स रहेका कारण भूमिका अगाडि नै खोल्दा दर्शकलाई हेर्न मज्जा नआउने उनको तर्क छ । उनका अनुसार, कथा अनुसार चलचित्रको नामाकरण गरिएको हो । चिँ मुसी चिँलाई मुसा-विरालोको खेलको रुपमा लिइन्छ । निर्देशक श्रेष्ठले मुसा-विरालोको खेल जस्तै फिल्ममा चलखेलको कथा रहेको बताए ।

कोरियोग्राफी फिल्डमा परिचित अनुहार नव-नायक सुनिल क्षेत्रीले आफ्ना लागि ‘चिमुसीचि’ को रिजल्टले करिअरमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कहिल्यै हिरो बन्ने सपना नदेखेका उनी कथा र भूमिका राम्रो लागेपछि चलचित्रमा जोडिएका रहेछन् ।

उनी भन्छन्, ‘यो अनुहार लिएर चलचित्रको हिरो हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ । यस चलचित्रमा निर्देशक श्रेष्ठ ज्यूले क्यूट फेस नभएर परिपक्क अनुहार खोज्नुभएको रहेछ । उहाँले चलचित्रका लागि जस्तो पात्रको खोजी गर्नुभएको थियो त्यो ममा देखेर फिल्म अप्रोज गर्नुभयो । आफ्नो तर्फबाट मैले राम्रो काम दिने प्रयास गरेको छु ।’

उनले आफ्नो भूमिका खोल्न नचाहेपनि नाम झैँ चलचित्रमा काम रहेकोमा ढुक्क छन् । चलचित्रमा समावेश ‘तिमी माग्छौ भने…’ बोलको गीतमा अभिनेता क्षेत्री स्वयंले कोरियोग्राफी गरेका छन् । थाइल्याण्डमा खिचिएको भएतापनि गीतको भिडियोको छायांकन र कोरियोग्राफीमाथि धेरैले औँला उठाएका छन् ।

अब उनले आफूले आफैंलाई चलचित्रका गीतमा कोरियोग्राफी नगर्ने प्रण लिएका छन् । उनीसँग शाहरुख खान, सलमान खान, टाइगर श्राफको पछाडि कोरस भएर नाच्दाको पीडा र खुसीको क्षण पनि सुन्न लायक छन् । उनी थप्छन्, ‘डिआइडीको प्रतियोगीदेखि बलिउडका चर्चित सेलिव्रेटीको पछाडि कोरस भएर धेरै पटक नाचेको छु । त्यसबाट पनि मैले धेरै अनुभव बटुल्न पाएँ ।’


अहिले उनी नेपालमै बसेर ‘नेपाली ठिटोज्’ डान्स ग्रुप खोलेर म्यूजिक भिडियोमा नृत्यदेखि कोरियोग्राफी व्यस्त छन् । ‘म बाहिर बसेर किन पसिना बगाउने भनेर नेपाल फर्किएँ । अहिले कामको कमी छैन । म्यूजिक भिडियो आइरहेका हुन्छन् । गर्न सके नेपालमा नै प्रशस्तै सम्भावना रहेछन् भन्ने बल्ल बुझेँ’, उनले भने ।

भारतीय टेलिभिजन एम टिभिको रियालिटी शो ‘स्प्लीटभिल्ला’ मा सहभागी भएर नृत्यमा आफूलाई अब्बल प्रस्तुत गरिसकेकी अभिनेत्री अलिशा शर्मा सानैदेखि आफूलाई अभिनेत्री बन्ने रहर रहेको सुनाउँछिन् । ‘चिमुसीचि’ भन्दा अगाडि आफूलाई अभिनेत्री बन्नका लागि संघर्ष गरिरहेको थिएँ । पर्दामा आउँदा मेरो माइनस प्वाइन्ट नहोस् भनेर रियालिटी शोमा भाग लिएँ, म्यूजिक भिडियो गरेँ’, उनले भनिन् ।

‘चिमुसीचि’ मा एउटा डान्सर ब्याकग्राउण्ड भएको अभिनेत्रीको खोजीमा रहेको बखत निर्देशक श्रेष्ठको आँखामा परेकी रहेछिन् अभिनेत्री शर्मा । उनी आफूले चाहेको कुरा प्राप्त गरेकोमा खुसी छिन् । उनी भन्छिन्, ‘चलचित्रको कथा सुनेपछि छाड्नै सकिनँ । नाम सुन्दा चाहिं कस्तो खालको चलचित्र हो भन्ने लागेको थियो तर कथा नाम अनुसारकै छ ।’

‘तीन घुम्ती’, ‘सपना तिम्रो मेरो’ जस्ता केहि चलचित्रमा काम गरिसकेका अभिनेता सुशान्त कार्की ‘चिमुसीचि’ ले आफूलाई सफल कलाकार बनाउन सहयोग पुर्‍याउनेमा विश्वस्त छन् । आफ्ना अघिल्ला कुनै पनि चलचित्र सफल नभएको स्वीकार गर्दै उनी भन्छन्, ‘कथा अनुसार ‘चिमुसीचि’ बनेको छ । भूमिका कमजोर छैन । सबैले मिहिनेत गरेका छौँ । चलचित्र बल्कबस्टर हुन्छ भन्नेमा शंका छैन ।’

उनले कथा सुन्ने वितिक्कै चलचित्र गर्न राजी भएको बताए । उनले भने, ‘मैले १ वर्षदेखि चलचित्र गरिरहेको थिइनँ । केहि चलचित्रबाट अफर आएका थिएँ तर गरिनँ । यसको अर्थ म राम्रो स्क्रिप्टको खोजीमा थिएँ, जुन ‘चिमुसीचि’ मा पाएँ । मैले सोचेको जस्तै चलचित्र हो यो ।’

निर्माता द्वय अरुण कुमार गुरुङ र महेश्वर खत्रीले कथा उत्कृष्ट लागेकाले चलचित्रमा लगानी गर्न तयार भएको बताए । दुवै निर्माता आफ्नो लागानी सुरक्षित हुनेमा आशावादी देखिन्छन् । यसमा सुबास भुर्तेल र डब बहादुर गुरुङ पनि निर्मातामा छन् । ‘चिमुसीचि’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।


शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu