‘नपत्याउने खोलाले बगाउँछ’ भने झैँ उमेश थापा र कविता गुरुङको बायोपिक चलचित्र ‘बोबी’ ले यो प्रमाणित गरेको छ । असार २९ गते प्रदर्शनमा आएका चार चलचित्रमा यो पनि थियो ।
अन्य तीन चलचित्र हलबाट उत्रिसकेपनि यो चलचित्र हेर्ने दर्शक बढिरहेका छन् । प्रदर्शनको सुरुवाती केहि दिन औसत रहेको ‘बोबी’ को व्यापार दिनप्रतिदिन उकालोलाग्दो छ ।
शुक्रवार र शनिवार बाहेक नेपाली चलचित्रको व्यापार पट्यारालाग्दो हुन्छ । तर, ‘बोबी’ ले विदा नभएको दिन पनि सुखद कलेक्सन गरिरहेको छ । यो चलचित्रलाई सिंगल हलमा दर्शकले पत्याएनन् । मल्टिप्लेक्समा भने दर्शकको ‘फ्लो’ कम छैन ।
हुनत, व्यापारका लागि चलचित्र सिंगलभन्दा मल्टिप्लेक्समा टिकिरहनु राम्रो हो । मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो चलचित्रलाई बुधवार ५ शोज दिएको छ । मंगलवार तीन शोज बाढेको थियो । चलचित्रले पाएको कुनै पनि शोज दर्शक अभावले रद्द भएका छैनन् । प्रायः सबै शोज हाउसफुल छन् ।
‘बोबी’ ले बिहीवार पनि क्यूएफएक्सका तीन हलमा ४ शोज पाएको छ । नामै नसुनेका कलाकार र विना बिदाको दिन नेपाली चलचित्रले मल्टिप्लेक्समा ४/५ शोज पाउनु ठूलो कुरा हो ।
यस्तै, उक्त चलचित्रलाई बुधवार राजधानीमा रहेका मल्टिप्लेक्स हल एफक्यूबले १ शो, बिग मुभिजले १ शो र विएसआर मुभिजले २ शोज बाढेका छन् । चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सले दर्शकको उत्साहजनक साथले उर्जा मिलेको बताए ।
उनी चलचित्रले नेपालबाटै लगानी सुरक्षित गर्नेमा विश्वस्त छन् । उनका अनुसार, राजधानीसँगै चितवन, पोखरा, धरान, इटहरी र दमकमा पनि ‘बोबी’ लाई दर्शकको राम्रो साथ मिलिरहेको छ ।
चलचित्रमा रियल जोडी उमेश र कविताकै लिड रोल छ । विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल लागयतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।