साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कायरा’ प्रचार प्रसारको शिलशिलामा पोखरा पुगेको छ । शनिवार अभिनेता सिग्देल र अभिनेत्री साम्राज्ञी चलचित्रको प्रचारका लागि आयोजना गरिएको बाइक र्यालीमा समेत सहभागी भएका थिए ।
बाइक र्याली पश्चात् आयोजना गरिएको पत्रकार भेटघाटमा आर्यनले ‘कायरा’ लभस्टोरी चलचित्र रहेको बताए । उनले भने, ‘चलचित्रमा अन्य सामाजिक सन्देश पाउनुभन्दा पनि मनोरञ्जन भरपुर पाउनुहुन्छ । यदि तपाईलाई प्रेमकथा मनपर्छ भने ‘कायरा’ ले मनछुन सक्छ ।’
अभिनेत्री साम्राज्ञीले आर्यनसँग काम गर्न पाउँदा रमाइलो महशुस भएको बताइन् । उनी भन्छिन्, ‘चलचित्रको स्क्रिप्ट सुन्दा नै म गहभरी भएको थिएँ । स्क्रिप्ट अनुसार नै चलचित्र बनेको छ । पोखरा प्रेमील शहर भएका कारण चलचित्रलाई पोखराबासीहरुले पनि मनपराउनुहुन्छ भन्नेमा ढुक्क छौ ।’
यस्तै, निर्देशक लक्ष्मण रिजालले एकपटक हलमा गएर चलचित्र हेरिदिन आग्रह गरे । यो चलचित्र अभिनेता आर्यन सिग्देलको होम प्रोडक्शनमा निर्माण भएको हो । चलचित्रको कथा उनी स्वयंले लेखेका हुन् । उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।
कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् ।
यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले चलचित्रका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।