फ्लोरमा निस्किने तयारी भइरहँदा चलचित्र ‘गोपी’ मा नायिकाको रुपमा अभिनेत्री वर्षा सिवाकोटी भित्रिएकी छन् । अब अभिनेता खगेन्द्र लामिछानेको यस चलचित्रमा दुई अभिनेत्रीसँग रोमान्स हुने पक्का भएको छ । अर्की अभिनेत्री सुरक्षा पन्त हुन् ।
चलचित्र ‘गोपी’ को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । निर्देशक दीपेन्द्रका अनुसार, पटकथालाई सुहाउने भएकाले वर्षालाई लिइएको हो ।
उनले चलचित्रमा दुई नायिका भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको प्रष्ट्याउँछन् । खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् ।
खगेन्द्रले आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै चलचित्रमा काम गर्न पाउँदा खुसी महशुस गरेको बताए । ‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु,’ खगेन्द्रले भने ।
वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको चलचित्र ‘भैरे’ मा सँगै काम गरेका थिए । ‘पशुपति प्रसाद’ मा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन सेयर गर्न पाएकी थिइन, तर गोपीमा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ,’ वर्षाले भनिन् ।
वर्षाको आगमनले चलचित्रमा ग्ल्यामर थपिएको महसुस गर्छिन् सुरक्षा । ‘पछिल्लो समयका सुन्दर अभिनेत्रीमध्ये एक पर्छिन् वर्षा, उनी पनि ‘गोपी’ मा जोडिएको खबरले म उत्साही छु,’ सुरक्षाले बताइन् ।
आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’ को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । चलचित्रमा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।
चलचित्रलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले बताए । न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने चलचित्रका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् ।