फ्राईडे रिलिज अन्तर्गत यो साताको शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर जनरामा निर्मित चलचित्र ‘चिमुसीचि’ ले दर्शकको राम्रो साथ पाएको छ ।
फिल्मको सस्पेन्स पाटो र गीतसंगीतलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । निर्देशक दिनेश श्रेष्ठ भन्छन्, ‘दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाभन्दा हाम्रो लागि अरु सफलता के नै हुन्छ र ? चलचित्र हेर्नुभएका दर्शकले राम्रो भन्नुभएको छ । हामी खुसी छौं ।’
यस चलचित्रबाट अभिनेत्री अलिशा शर्माले सम्भावना देखाएकी छिन् । उनको अभिनय र डाइलग डेलिभरीलाई दर्शकले औधि रुचाएका छन् । अभिनेता सुनिल क्षेत्रीको कामको पनि प्रशंसा भएको छ । यी दुवैको यो चलचित्र डेब्यु हो ।
सोमवार राजधानीको क्यूज हलमा चलचित्र हेर्न पुगेकी बरिष्ठ कलाकार बसुन्धारा भुसालले ‘चिँ मुसी चिँ’ एकपटक हेर्नै पर्ने चलचित्र बनेको बताइन् । ‘कलाकारको अभिनय, कथावस्तु र निर्देशकको काम अब्बल छ । हाम्रै समाजको कथा चलचित्रले बोल्छ । धेरैपछि एउटा असल चलचित्र हेर्न पाएँ खुसी छु’, उनले भनिन् ।
उक्त चलचित्रमा निर्देशक श्रेष्ठको काम परिपक्क देखिन्छ । यसअघि उनले ‘सकुन्तला’ लगायतका चलचित्र निर्देशन गरेका थिए । ‘चिमुसीचि’ को कमजोर पक्ष भनेको छायांकन हो । छायाँकार बासु न्यौपानेले आफ्नो काम देखाउन चुकेका छन् ।
यस चलचित्रको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
‘चिमुसीचि’ मा सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको पनि अभिनय छ ।