श्रावण १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोकेको छ । अपहरण र सुन तस्करीको कथा उठान गरिएको हुँदा चलचित्रलाई सेन्सर बोर्डले रोक लगाएको बुझिएको छ ।
निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो चलचित्र रहेको बताए । उनले भने, ‘चलचित्रमा आपत्तिजनक तथा समाजमा नकारात्मक सन्देश दिने कुनै पनि सिन छैन । सेन्सर बोर्डले रोक लगाउनुको खास कारण केहि छैन ।’
गलत काम गर्ने जो कोही कानुनी सजाएको भागेदार हुनुपर्ने कुरालाई चलचित्रमा व्यांग्यात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक कटुवालले बताए । निर्माता मिन कुमार तामाङले चलचित्रलाई सेन्सर बोर्डले रोक्नुको कुनै औचित्य नभएको बताउँछन् ।
चलचित्रलाई सेन्सर बोर्डले रोकेसँगै प्रदर्शन अन्यौलमा परेको छ । अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा ओम सुनारको संगीत छ ।
राजु किरात राईको द्वन्द्व रहेको चलचित्रलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमले यो चलचित्र खिचेका हुन् ।