‘बोबी’ को सक्सेस पार्टीमा भावुक भए उमेश र कविता



गएको असार २९ गते प्रदर्शनमा आएको उमेश थापा र कविता गुरुङको बायोपिक चलचित्र ‘बोबी’ शुक्रवारबाट प्रदर्शनको चौँथो हप्तामा प्रदर्शन थालेको छ । सुरुवाती दिनमा दर्शकको न्यून उपस्थिति रहेपनि यो चलचित्र हेर्ने दर्शक विस्तारै बढ्दै गएका छन् ।

बिहीवार साँझ राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको सक्सेस पार्टी मनाइएको छ । उमेश र कविता अब नर्बे फर्किन लागेका कारण मिडियालाई धन्यवाद दिन सक्सेस पार्टीको आयोजना गरिएको थियो । पार्टीमा निर्देशक चाम्ससहित उमेश र कविता आफ्नो छोरासँग उपस्थित भएका थिए ।

कविता र उमेशले आफ्नो कथामा चलचित्र बनाउने जोखिम उठाउँदै गर्दा निर्देशक मिलन चाम्सलाई भनेका रहेछन्, ‘दाई हामी तपाईको शिर झुकाउन दिने छैनौं ।’ चलचित्रको सक्सेस पार्टीमा ती कुरा सम्झिँदै आफूहरुले गरेको प्रतिवद्धता पूरा गरेको भन्दै कविता गहभरी भइन् ।

चुलबुले स्वभावकी उनले मिडियालाई विशेष धन्यवाद दिँदै भनिन्, ‘म मिलन दाईलाई दाई मान्छु । हामी कहाँ दाईको खुट्टा छुने चलन छैन । तर, ‘बोबी’ सक्सेस नभएपनि मैले जे गर्छु भनेको थिएँ त्यो आज गर्दैछु । उमेश र मैले हाम्रो निधारले दाईको पाउ छुन चाहन्छौं ।’ उनको यो कुराले पार्टी मूडमा रहेका जो कोहिँ स्तब्भ भए ।

कविताले मिडियाकै सामु निर्देशक मिलन चाम्सले पाउ छोइन् । उमेश गहभरी भए । मिलनले दुवैलाई अंकमाल गरे । उमेश र कविता रुँदै चाम्सको अंकमालमा निकैबेर बाँधिए । हेर्दा फिल्मी जस्तो लागे पनि यो रियल दृश्यले सबैलाई भावुक बनाएको थियो ।

आफूलाई सम्हाल्ने प्रयास गर्दै ‘बोबी’ का नायक उमेशले डल्लु (कविता) र आफू भाग्यमानी रहेको बताए । उनले भने, ‘सबैको कथा हुन्छ । सबै त्यति भाग्यमानी हुँदैनन् जसको कहानी पर्दामा आउँछ । यो सबै हुनुको कारण भनेको एउटा निर्देशक हो । हामीलाई त्यो अवसर दिनुभयो मिलन दाईलाई धन्यवाद दिन चाहन्छु ।’

‘डल्लुले मिलन दाईको पाउ छोइन् । मैले १५ वर्ष कविताको काकासँग समेत शीर निहुँराइनँ । तर, म मिलन दाईलाई टाउको निहुँराएर ढोग्छु ।’ उमेशले पाउ छुनै खोज्दा निर्देशक चाम्सले उनको टाउको काँधमा राखे । फेरि पार्टी माहोल एकाएक चिसियो ।

उमेशले रिल र रियल लाइफ श्रीमति कविताप्रति पनि प्रेम र सम्मानको भाव पोखे । उनले भने, ‘डल्लु मेरो इज्जत हो । उसले गरेर मैले आज यतिधेरै इज्जत पाएको छु कि म शब्दमा भन्न सक्दिनँ । पूर्नजन्म हुन्छ कि हुँदैन थाहा छैन । तर, भयो भने मलाई ऊ जस्तै माया गर्ने मान्छे चाहिँदैन मलाई डल्लु नै चाहिन्छ ।’


उनले आफ्नो कुरा राख्ने क्रममा पाइलट तथा चलचित्रका कलाकार विजय लामालाई पनि सम्झिए । उमेशले विजय लामाको आफू ‘ज्वाइँ’ हुन पाएकोमा गर्व महशुस गरेको बताए । यस्तै, निर्देशक चाम्स र कविताले ‘बोबी’ लाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

निर्देशक तथा निर्माता मिलन चाम्सले चलचित्रको कलेक्सन रिपोर्ट भने खुलाउन चाहेनन् । ‘फिल्मले करोडौं कमाइसकेको छ । तर, त्योभन्दा ठूलो कुरा हामीले दर्शकको अथाह माया पाएका छौं । त्यो पैसामा तुलना गर्न सकिन्न’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu