अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने सुपरहिट सिरिज ‘ए मेरो हजुर’ को तेस्रो पार्ट यस वर्षको चैत २९ गते प्रदर्शनमा आउने तय भएको छ । फ्लोरमा नजाँदै निर्देशक झरना थापाले चलचित्रको प्रदर्शन मिति घोषणा गरेकी हुन् ।
‘ए मेरो हजुर ३’ को छायांकन असोज ५ गतेबाट सुरु हुँदैछ । हाल चलचित्रको अन्डर प्रोडक्शनको काम भइरहेको निर्देशक थापाले जानकारी दिइन् ।
यो चलचित्रबाट उनकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् । उनी अभिनेता अनमोल केसीको जोडीको रुपमा देखिनेछिन् । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा सुनिल कुमार थापा निर्माता रहने यो चलचित्रको दोस्रो सिरिज गएको वर्ष प्रदर्शनमा आएको थियो ।
‘ए मेरो हजुर ३’ मा अनमोल जोडिएसँगै फिल्मको दर्शकमा छायांकन अगावैदेखि व्यग्र प्रतिक्षा भइरहेको छ । उनी अहिले आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’ को छायांकनमा व्यस्त छन् ।
अहिले यो चलचित्रको अन्तिम चरणको छायांकन चलिरहेको छ । यो चलचित्र मंसिर २१ गते रिलिज हुने चर्चा छ ।