सञ्चारकर्मी प्रकाश सुवेदीले अब चलचित्र निर्देशन गर्ने भएका छन् । शनिवार आफ्नो ५० औँ जन्मदिन मनाउने क्रममा उनले चलचित्रको औपचारिक रुपमा निर्माण घोषणा समेत गरे ।
चलचित्र को नाम ‘बकम्फुसे राजा’ राखिएको छ । यो चलचित्र बाट पत्रकार सुवेदीले फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको यस चलचित्र मा गणेश सुवेदीको लगानी रहनेछ ।
चलचित्र का गीतमा अर्जुन पोखरेलले संगीत भर्ने जिम्मेवारी पाएका छन् भने विष्णु कल्पित छायाँकारमा अनुबन्ध भएका छन् । सुनिल श्रेष्ठको स्क्रिप्ट रहेको फिल्मका प्रमुख कलाकारको भने घोषणा गरिएको छैन ।
निर्देशक बन्न लागेका सुवेदीले केही दिनमा कलाकारको विषयमा जानकारी दिने बताए । ‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य टेलिसिरियल निर्देशन गरिसकेका उनले सञ्चालन गर्ने चलचित्र सम्बन्धी कार्यक्रम ‘रजतपट’ एक समय निकै हिट थियो ।